२०८१ असार ८ गते शुक्रवार

राजनीतिक दलको सहकारी ठगी प्रकरणमा ध्यान जानुपर्छ : प्रचण्डविक्रम न्यौपाने

दाङ,जेठ १३ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभाका सदस्य प्रचण्डविक्रम न्यौपानेले केन्द्र सरकारमा चार वटा शक्तिशाली मन्त्रालय लिएर बसेको नयाँ राजनीतिक दलको सहकारी ठगी प्रकरणमा लुम्बिनी प्रदेश सरकारको ध्यान जानुपर्ने बताएका छन् ।

आइतबार देउखुरीको मसुरियास्थित लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्दै न्यौपानेले सहकारीको रकम अपचलन र ठगी प्रकरण गम्भीर बनेर गएको बताए ।

उनले भने, ‘आज सहकारीको विषय उठेका छन् । बुटवलबाट यहाँ मन्त्रीहरू हुनुहुन्छ । सांसदहरू हुनुहुन्छ । अघि माननीयज्यूले पनि भन्नुभयो ।’

‘तर, यो हाम्रो यो प्रदेशमा उठेका आवाजहरूलाई यो प्रदेशले सम्बोधन गर्न सक्ने कि नसक्ने ? सहकारीको विषय हामीले उठाउने हो कि होइन मुख्यमन्त्रीको ध्यान जान आवश्यक छ’, न्यौपानेले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी र त्यो पार्टीका सभापति रवि लामिछानेको नाम नलिएर न्यौपानेले भने, ‘माथिको गठबन्धनको सरकारमा शक्तिशाली मन्त्रालय लिएर बसेको एउटा नयाँ दल छ जसले संघीयता मान्दैन भन्छ । अनि यो संघीयताप्रति कसरी यो केन्द्रीय सरकार जिम्मेवारीसँग अगाडि बढ्छ ? भन्ने मेरो प्रश्न छ ।’

‘मैले भन्न खोजेको नयाँ दललाई हो । चार वटा शक्तिशाली मन्त्री लिएर बस्नु भएको छ’, उनले भने ।

‘भर्खरै योभन्दा अगाडिको निर्वाचनमा झुक्किनु भयो होला लाग्यो । तर, झुक्किएको रहेन छ’, उनले भने, ‘यो संघीयताप्रति अविश्वास रहेछ । इलामको उपनिर्वाचनमा उहाँहरूले भाग लिइसके पछाडिको त्यसले प्रस्तुत गरेको छ ।’

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *