दाङ, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पछि धनुषा तर्फ लगिएको छ । मंगलबार बेलुकी पख प्रहरीले सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेको थियो ।
सिरोहियाको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको भन्ने आरोपमा वैशाख १७ गते जाहेरी परेको थियो।
दोहोरो नागरिकता रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो। जाहेरी परेसँगै जिल्ला प्रहरी कार्यालय धनुषाले मंगलबार नै जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमति लिएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार पक्राउ परेका सिरोहियालाई धनुषा लगिएको छ।
सिरोहियालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयको टोलीले मंगलबार साँझ पक्राउ गरेको हो। उनलाई पक्राउ गर्न कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहितको टोली पुगेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाका अनुसार उनलाई नागरिकता सम्बन्धी कसुरमा पक्राउ गरिएको हो। उनको नागरिकता नम्बर अर्कौ एक जना व्यक्तिसँग मिलेको र फरकफरक ठाउँमा फरकफरक नागरिकता पेश गरेको आरोप लागेको छ ।
सिरोहीलाई पक्राउ गर्न धनुषाका जिल्ला न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले पक्राउ पुर्जी जारी गरेका थिए।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहीयालाई पक्राउ गरेपछि चौतर्फी आलोचना भइ रहेको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल, नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला, नेपाल समाजबादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगाएतले प्रतिसोधका कारण उनलाई पक्राउ गरिएको भन्दै तत्काल रिहा गर्न माग गरेका छन् ।
लोकतन्त्रका लागि तीन दशकदेखि सशक्त आवाज उठाउँदै आएको कान्तिपुरका अध्यक्ष सिरोहिया माथिको पक्राउ प्रेस स्वतन्त्रता कुण्ठित गर्ने मनासयका साथ भन्दै उनीहरुले बिरोध जनाएका छन् ।
