तुलसीपुर , जेठ ७ । नेकपा एमाले दाङको नयाँ नेतृत्व सर्वसम्मत चयन गर्ने प्रयास जारी छ ।
घोराहीस्थित जिल्ला पार्टी कार्यालयमा सोमबार बिहानदेखि अध्यक्ष मण्डलको बैठक जारी छ । जिल्ला नेतृत्व चुन्न स्थायी कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको नेतृत्वमा जिल्लामा उपलब्ध केन्द्रीय सदस्यहरु सदस्य रहेको कमिटी बनाइएको छ ।
त्यो अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य तथा यसअघिका तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, केन्द्रीय सदस्य तथा पूर्व सांसद शान्ता चौधरी, पूर्व राष्ट्रियसभा सदस्य कोमल वली, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य लक्ष्मण आचार्य, सीता सिग्देल, केन्द्रीय सदस्य अनारकली मिया लगाएतका नेताहरु छन् ।
अध्यक्ष मण्डलमा सहभागी बहुमत सदस्यहरुले अबको जिल्ला अध्यक्ष शिबकुमार आचार्य बन्नेमा लगभग टुँगो लागि सकेको जानकारी दिएका छन् ।
जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले पनि आँफुले शिबकुमार आचार्यलाई अध्यक्षका रुपमा समर्थन गर्ने स्पष्ट बताए ।
उनले अध्यक्ष मण्डलका बहुमत सदस्य आचार्यको पक्षमा रहेको पनि जानकारी दिए ।
अध्यक्ष पदका एक जना प्रमुख दाबेदार एमाले दाङका सचिव मनोहर बेढाथोकीले भने अध्यक्ष मण्डलमा छलफल जारी रहेको र असिना पानी नपरेसम्म आँफु नै अध्यक्ष बन्ने दाबी गरे ।
निर्वाचन समितिका संयोजक ठाकुर डिसी रहेको र निर्वाचनमा जानु नपरोस भन्ने मनस्थितिमा अध्यक्ष मण्डल देखिएको सचिव बुढाथोकीले जानकारी दिए ।
स्रोतका अनुसार जिल्ला सचिवमा तुलसीपुर – १२ का पूर्व वडाध्यक्ष श्याम डाँगीको नाम चर्चामा रहेको स्रोतले जानकारी दियो ।
