तुलसीपुर , जेठ २ । दाङको राजपुर गाउँपालिका – ७ स्थित माध्यामिक बिद्यालय सिक्टाका प्रधानाध्यापक विष्णु खत्री माथि भएको कुटपिटको घटना बारे दुबै पक्षले आफ्नो बचाउ गर्दै आपसमा आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
प्रअ माथि भएको कुटपिटको घटनाको बिरोध र दोषी वडा सदस्य प्रमोद बस्नेत माथि कानुनी कारबाहीको माग गर्दै नेकपा माओबादी केन्द्र निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनले मंगलबार बिज्ञप्ती निकालेको थियो ।
उक्त संगठनका तर्पmबाट जिल्ला समन्वय समिति दाङका अध्यक्ष झक्कुप्रशाद केसी र सचिव शिवनारायण चौधरीले आफ्नो संगठनका लुम्बिनी प्रदेश समितिका अर्थ उपमहासचिव खत्री माथि वडाध्यक्ष पुष्कर वलीकै कार्यकक्षमा छलफल चलिरहँदा सांघातिक आक्रमण गरेको कुरा उल्लेख छ ।
वडा सदस्य बस्नेतले गुण्डागर्दीको सैली अपनाएको भन्दै दोषीमाथि कानुनी कारबाहीको माग गरिएको छ ।
त्यसको प्रतिरक्षा गर्दै वडा सदस्य बस्नेतले पनि बिज्ञप्ती जारी गरेका छन् । जसमा वडा सदस्य बस्नेतले प्रअ खत्रीले नै छलफलका क्रममा अपशब्द प्रयोग गर्दै वडा सदस्य रबती खत्रीको झोलाले आँफुलाई सुरुमा प्रहार गरेको तथा त्यसपछि पनि वडाध्यक्ष वलीको टेबलमा रहेको पञ्चिङ मेसिनले आँफु माथि प्रहार गरेको भन्दै आफ्नो बचाउ गरेका छन् । त्यसपछि आँफुले प्रतिरक्षा गर्ने क्रममा प्रअ अत्रीलाई सामान्ने चोट लागेको हुन सक्ने कुरापनि वडा सदस्य बस्नेतले उल्लेख गरेका छन् ।
वडा सदस्य बस्नेतले झगडाको प्रमुख कारण गाउँपालिकाले निशुल्क शिक्षा लागु गरेपनि त्यसबिपरित प्रअले मनोमानी ढंगले बिद्यार्थीबाट शुल्क उठाउँदै आएको हुँदा आँफुले त्यो रकम बिद्यार्थीलाई फिर्ता गरिनु पर्छ भन्दा प्रअले अपशब्द प्रयोग गरेको हुँदा झगडाको स्थिति सृजना भएको उल्लेख गरेका छन् । त्यस्तै उनले बिगत ६ बर्ष यता प्रअले शिक्षक अभिभावक भेला नगराएको तथा आँफु अनुकुलका शिक्षक बाहेक अन्यलाई हाजिर गर्न समेत नदिने गरेको दोषारोपन गरेका छन् ।
पीडित प्रअ खत्रीले मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय घोराही दाङमा सदस्य बस्नेतका बिरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत जाहेरी दिएको दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।
‘ हामीले आरोपित वडा सदस्यलाई आज कार्यालयमा बोलाएका छौं,’ एसपी केसीले भने ‘ छलफल पछि थप के गर्ने भन्ने निर्णय हुने छ ।’
अर्का एक प्रहरी अधिकारीका अनुसार प्रख खत्रीले ज्यान मार्ने उद्योग अन्तरगत जाहेरी दिएपनि त्यो दाबी अली पुग्ने अवस्था नदेखिएको बताए ।
‘दुबै पक्षका बीचमा छलफल पछि के गर्ने भन्ने टुगो लगाइने छ,’ ती प्रहरी अधिकारीले भने ‘ दोषी पाइए कानुन बमोजिम वडा सदस्यलाई कारबाही हुने छ ।’