
दाङ, जेठ २० । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको रिहारमा मध्यरातमा एउटा बस दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् । घाइते मध्य चार जनाको अवस्था गम्भीर छ । दुर्घटनामा परि कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा नं. ८ निवासी ६५ बर्षीय भागिराम डँगौरा, उनकी ६० बर्षीया पत्नि तेज्या डँगौरा, डेडेलधुरा जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ ५० की गोपा सार्की र कैलाली जिल्लाको चुगा नगरपालिका वडा नं. ६ निवासी ३५ बर्षीय कृष्ण भण्डारी गम्भीर घाइते भएका छन् । भण्डारीका छोरा पनि उक्त दुर्घटनामा परि घाइते भएको र अवस्था गम्भीर नभएपनि बुवा संगै उपचारको लागि लैजान भनि बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले चालकले आवश्यक सावधानी नअपनाउँदा दाङमा भएको बस दुर्घटनामा भएका जानकारी दिए ।
नारायणघाट बाट पश्चिमको धनगडी तर्फ जाँदै गरेको ना ७ ख १२६४ नम्वरको यात्रुबहाक बस पूर्वपश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नं. ९ रिहार नजिकै गएराति १२ बजेर २० मिनेट जाँदा दुर्घटनामा परेको थियो । ‘चालकले बसलाई स्टाटको अवस्थामा छोडेर सौच गर्न निस्केको समयमा बस गुडेर दुर्घटना भएको यात्रुहरुले बताएका छन्,’ एसपी पाण्डेले भने ।
प्रहरीका अनुसार बसमा कुल ४० यात्रु थिए । त्यसमध्य ३० यात्रु र चालक समेत सौचका लागि रिहारको जंगलमा ओर्लिएका थिए । तर, गाडि स्टाटको अवस्थामै थियो । त्यही क्रममा एक्कासी गाडि गुड्दै १५ मिटर परसम्म पुग्यो र दुर्घटनामा परेको एक यात्रुले फोनमा जानकारी दिए । गाडीको अगाडि बसेकी एकजना महिलाको खुट्टाले बसको गेयरमा छोएपछि बस गुडेको हुन सक्ने अनुमान ती यात्रुले गरे । दुर्घटना पछि चालक फरार रहेको प्रहरीले जानकारी दिएको छ ।