२०८३ असार ६ गते शनिवार

निमित्त प्रअको कुटपिट बाट रोल्पामा पाँच जना छात्राको हात फ्याक्चर

तस्विर – ओपेन्द्र बस्नेत ।

दाङ, जेठ २० । रोल्पामा एकजना निमित्त प्रधानाध्यापकको कुटपिट बाट पाँच जना छात्राको हात फ्याक्चर भएको छ भने १४ जना विद्यार्थी घाइते भएका छन् । जिल्लाको रुम्टीगढी गाउँपालिका वडा नं. ८ स्थित भानु आधारभूत विद्यालयकी विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाईबाट पाँच जना छात्राको हात फ्याक्चर भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

१५ बर्षीया भिमकुमारी बाँठा, १३ बर्षीया निर्मला पुन, १४ बर्षीया गौरी घर्ती, १५ बर्षीया शान्ता नेपाली र १४ बर्षीया बिमला रोकाको हात फ्याक्चर भएको अवस्थामा उनीहरु दाङको तुलसीपुर स्थित साहारा पोलिकिल्निकमा उपचार पछि आइतवार घर फर्किएका हुन ।

उपचारमा संलग्न डा. घनश्याम शर्माले त्यस्तो जानकारी दिएका हुन । उनीहरु सबैलाई १५ दिनपछि फेरि फलोअप चेकअपका लागि डाकिएको क्लिनिक प्रशासनले जानकारी दिएको छ । यसैबीच घटना सार्वजनिक भए लगतै दोषी शिक्षिकालाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं डिएसपी दिपक खड्काले जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय होलेरीका प्रमुख तथा प्रहरी निरिक्षक मेघनाथ चौलागाँईलाई उक्त कार्यको लागि खटाएको उनले स्पष्ट पारे ।

एकजना घाइते बालिका कक्षा ८ मा अध्यनरत १४ बर्षीया गौरी घर्तीले आफुलगाएत कक्षा ८ मै अध्यनरत शान्ता नेपाली र कक्षा ७ मा अध्यनरत विमला रोकालाई शिक्षिका लक्ष्मी पुनले कपाल राम्रो संग किन नबाटेको, किन लिपिष्टिक लगाएको, गालामा कोठी किन बनाएको ? भन्दै सालको काठको पटरी (चिरपट)ले कुटेको जानकारी दिइन ।

तस्विर – ओपेन्द्र बस्नेत ।

भानु आधारभूत विद्यालयका प्रधानाध्यापक झगबहादुर भण्डारी जेठ १२ गते मौखिक रुपमा निमित्त प्रअको जिम्मेवारी लक्ष्मी पुनलाई दिएर होलेरीमा दुईदिने प्रअहरुको तालिममा गएका दिन त्यो घटना भएको थियो । आफु उक्त दिन फर्केर आउँदा विद्याय छुट्टी भइसकेको हुँदा अर्कौ दिन सामुहिक रुपमा सोध्दा लक्ष्मी म्याडमले ढिला आएको हुँदा सबैलाई एक÷एक लठ्ठी हानेको भन्ने कुरा बताएको प्रअ भण्डारीले बताए ।

जेठ १२ गते विद्यार्थी माथि कुटपिट भएपछि वडा नं. ८ का वडा अध्यक्ष भिमबहादुर घर्तीको रोहबारमा औषधी उपचार गर्ने सहमति गरिएको थियो । स्थानीय स्तरमा मिलेमतो भएपनि घाइते बालिकाको अवस्थामा सुधार नआएपछि घटना सार्वजनिक भएको हो । वडा अध्यक्ष भिमबहादुर घर्तीको रोहवरमा घटना सार्वजनिक हुन नदिन र स्थानीय स्तरमा मिलाइएको भएपनि छोरीको हातमा झनै समसय भएपछि मात्रै आफुहरु उपचारका लागि दाङ झरेको र त्यसपछि घटना सार्वजनिक हुन पुगेको विमला घर्तीका बुवा ३२ बर्षीय जितबहादुर रोकाले जानकारी दिए । शिक्षिका पुनले विद्यार्थीलाई निर्घात कुटेको दिन विरोध स्वरुप विद्यार्थीले जेठ १२ गते विद्यालयमा तालाबन्दी गरेर विरोध जनाउँदै उनेको सरुवाको माग गरेका थिए । पीडित विद्यार्थी र अभिभावकले भने विद्यार्थीलाई अनाहकमा अंगभंग हुनेगरी कुटपिट गर्ने शिक्षिका लक्ष्मी पुनको सरुवा हुनुपर्ने माग गर्दै आएका छन् ।

यसैबीच शिक्षिका लक्ष्मी पुनले आँफुले गल्ती गरेको स्वीकार गरेकी छन । आफुले अनुसानमा राख्न उनीहरु माथि कुटपिट गर्दा केही बढी भएको हुँदा सार्वजनिक रुपमा माफी मागि सकेको उनले फोनमा बताइन ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *