तुलसीपुर,वैशाख २५ । तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई घरमै गएर वृद्व भत्ता वितरण गर्न बैकलाई आग्रह गरेको छ ।
उपमहानगरले मंगलबार तुलसीपुर क्षेत्रका बैकका प्रतिनिधिलाई बोलाएर ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेको हो ।
उपमहानगर प्रमुख टिकाराम खड्काले बैकले ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गर्दै त्यसो नगरे उपमहानगरले विकल्प खोज्ने बताए ।
´जेष्ठ नागरिक भत्ता बुझ्न बैकमा लाइन लागेको दृश्य राम्रो भएन ।उपमहानगर प्रमुख खड्काले भन्नुभयो,´तपाईहरू स्थानीय सरकारको निर्देशन मान्नुहुन्न भने विकल्प खोजिन्छ । कार्यक्रममा उप-प्रमुख स्यानी चौधरीले बैकहरूले कानुनी बमोजिम सामाजिक काममा दायित्व बहन गर्नुपर्ने बताए ।
प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले आफूहरू बैकसँग सहकार्य गर्न तयार भएको भन्दै सामाजिक दायित्व नभुल्न आग्रह गरे ।
छलफलमा सहभागी बैकका प्रतिनिधिहरूले स्थानीय सरकारको निर्णय पालना गर्न र सामाजिक दायित्व पुरा गर्न तयार रहेको बताएका छन् ।