२०८३ कार्तिक २३ गते आइतवार

राजपुरका अग्नी पीडितलाई राहात वितरण गर्न जाँदै प्रजिअ


दाङ, बैशाख १७ । दाङको राजपुरका अग्नी पीडितलाई राहात सामाग्री बितरण गर्न प्रमुख जिल्ला अधिकारीको टोली त्यसतर्फ जान थालेको छ ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुबेदी नेतृत्वको टोली सोमबार दिउँसो २ बजेपछि त्रिपाल, भाँडा वर्तन लगाएतका राहात सामाग्री लगेर बितरण गर्न जान थालेको हो ।


घरहरु सबै जलेपछि राजपुर – ७ हाडबासका अग्नी पीडितहरु गएराति बारी र खुल्ला चौरमा त्रिपाल टाँगेर बसेका थिए । उनीहरुले अझैं केही दिन खुल्ला आँकाश मुनी दिन रात बिताउनु पर्ने अवस्था छ ।

राजपुर गाउँपालिकाका र मानव कल्यान घोराहीले आगलागी भएको दिन अग्नी पीडितहरुलाई अत्यावश्यक खाद्यान्न, त्रिपाल तथा लत्ता कपडा बितरण गरेका थिए ।


अध्यक्ष शरदकुमार बुढाथोकीले सोमबारपनि आँफुहरु रेडक्रस लगाएत सहयोगी संघ संस्थालाई गुहारेर राहात वितरणका लागि जान थालेको जानकारी दिए ।
राजपुर – ७ हाडबासमा बगर नजिकको खरबारीको डडेलो बस्तिमा सल्किदा २५ घर जलेर पूर्ण रुपमा नष्ट भएका थिए । गाउँका २७ मध्य २५ घर जलेर नष्ट भएका थिए । ती मध्य १९ घरमा मात्रै मानिसहरु बस्ने गरेको बुढाथोकीले जानकारी दिए ।


आगलागीबाट खानेपानीका पाइपहरु जलेर नष्ट भएको हुँदा खानेपानीको हाहाकार भएको छ ।
पुरै गाउँमा एउटा मात्रै खाने पानीको धारा जोगिएको स्थानीले बताए ।


अध्यक्ष बुढाथोकीले अग्नी पीडितलाई गाउँपालिकाले जनही दश हजारका दरले तत्काल आर्थिक साहेता गर्ने निर्णय गरेको जानकारी दिए । अग्नी पीडितलाई जिल्ला प्रशासनले उपलब्ध गराउने जनही १५ हजार, प्रदेश सरकारले पनि झन्डै ४० हजारका दररे नगद राहात उपलब्ध गराउने निर्णय गरेको जानकारी दिए ।

सबै निकायले अग्नी पीडितको पुर्नंबास निर्माणका लागि तत्काल नगद आर्थिक साहेता प्रदान गर्न आवश्यक रहेको पालिका अध्यक्ष बुढाथोकीले बताए ।


हाडबास गाउँ नै सखाप हुने गरि लागेको आगो अझैं आसपासका सामुदायिक वन जंगलमा पूर्ण रुपमा नियन्त्रणमा आइ नसकेको स्थानीयले बताए । आगो पूर्ण रुपमा नियन्त्रणमा लिने प्रयास जारी रहेको छ ।
नेपाल भारत सीमाना नाकामा पर्ने राजपुरको पानीको अभाव क्षेत्र हो । त्यसमाथि हाडबास गाउँसम्म पुग्ने मोटरबाटो अहिले सम्म छैन । लमही नगरपालिका र गढवा गाउँपालिकाका बाट पानी बोकेर गएका दमकल साँघुरो बाटोका कारण पुग्न सकेका थिएनन् ।


जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीका अनुसार आगो निभाउन भनेर गएका सुरक्षाकर्मीलाई गढवाबाट हाडबाससम्म पुग्न साढे दुई घन्टा लागेको थियो । लमहीको अमेलियादेखि हाडबास पुग्न छोटो गोरेटो बाटो छ । तर, त्यसबीचमा पर्ने राप्ती नदीमा डुँगा चढेर जानुपर्ने अवस्था छ ।

एक जना मात्रै डुँगा चलाउने मानिस रहेको हुँदा त्यहाँपनि समय लाग्ने गरेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले बताए । आगो निभाउन गएका सुरक्षाकर्मीको टोली राति १२ बजेपछि मात्रै हाडबासबाट फर्किएको मल्लले जानकारी दिए ।


अधिकाँस घरहरु आगोले जलेपछि उनीहरुका लागि खुल्ला स्थानमा त्रिपाल टाँगेर बस्न ठाउँ निर्माण गरि सुरक्षाकर्मी फर्किएको उनले बताए ।
बगर नजिकको खरबारीमा कसरी आगो लाग्यो ? भन्ने बारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ । ‘ आगो आँफै लागेको हो भन्नु भन्दापनि स्थानीय कसैले लगाएको हुनुपर्ने हाम्रो आशंका छ,’ उनले भने ‘ राहात वितरणको काम पुरा भएपछि त्यसबारे अनुसन्धान हुने छ ।’


खरबारीमा आगो लागेपछि सुरुमा गाउँले मिलेर निभाउने प्रयास गरेका थिए । तीब्र गतिको हावा हुरीले त्यो आगो फैलिदै गएपछि स्थानीयले प्रहरी प्रशासन गुहारेका थिए । सुरक्षाकर्मी पुगेपनि हावा हुरीका कारण आगो निभाउन संभव नभएको र बस्तिसम्म फैलिएर गाउँ नै सखाप भएको प्रहरी अधिकारीहरु बताउँछन् ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *