२०८१ असार ८ गते शुक्रवार

राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जलेर नष्ट

तुलसीपुर,बैशाख १६ । दाङको राजपुर गाउँपालिका–७ हाडबास गाउँमा आगलागी हुँदा २४ घर जलेर नष्ट भएका छन् ।

सोही आगलागीले अन्य १० वटा गोठसमेत जलेर नष्ट भएको वडा नं ७ का वडाध्यक्ष पुष्कर वलीले बताए।

सो गाउँमा २५ वटा घर थिए । तीमध्ये २४ वटा जलेर नष्ट भएका हुन् । आज दिउँसो ३ बजेतिर गाउँमा आगलागी भएको हो ।

आगलागी भएका सबै घर खरले छाइएका थिए । जस्ताले बनाएको मानबहादुर गिरीको घर बाहेक सबै घर जलेका हुन् ।

नजिकै रहेको वनबाट लागेको आगो गाउँमा पसेको हो । स्थानीयवासीले आगो निभाउने प्रयास गरेपनि सम्भव नभएपछि गाउँ नै सखाप भएको स्थानीय भीम वलीले बताए । यहाँको वनमा लागेको आगो अझै नियन्त्रणमा आएको छैन ।

वन क्षेत्रभित्रको बस्ती भएकाले पनि सजिलै गाउँमा आगलागी भएको हो । हावाहुरीले गर्दा आगो नियन्त्रणमा आउन नसकेको स्थानीय वलीले बताए ।

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *