२०८३ असोज २ गते शुक्रवार

बढ्यो मदिराको भाउ


काठमाडौँ, जेठ १८ ।
बजेट लगत्तै मदिराजन्य पदार्थको मुल्य बढेको छ । सरकारले मदिरा तथा मदिराजन्य पदार्थको अन्तशुल्क र भन्सार दर बढाएपछि मुल्य पनि बढेको हो । बुधबार संसदमा प्रस्तुत भएको आर्थिक विधेयकअनुसार स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्दै स्वदेशमा उत्पादित वाइनमा आयातित वाइनभन्दा कम अन्तशुल्क लगाइएको छ ।

आयातित मदिरालाई निरूत्साहित गर्न भन्दै १० प्रतिशतसम्म शुल्क बढाइएको छ । मदिराको ‘युपी’ शक्ति र अल्कोहलको मात्राका आधारमा भन्सार र अन्तशुल्क दर बढाइएको छ । आयातित मदिराको हकमा तोकिएको हल्कोहलको मात्रा १ प्रतिशत बढी फरक परेमा उच्चदरको अन्तशुल्क लगाउने आर्थिक विधेयकमा उल्लेख छ ।

बियरको मूल्य कतिले बढ्यो ?

भन्सार र अन्तशुल्क बढेसँगै उद्योगी तथा वितरकहरुले नयाँ मूल्यसूची जारी गरेका छन्। बिक्रेताहरुले नयाँ मूल्यमा मदिराको बिक्री सुरु गरिसकेका छन् । जसअनुसार ६५० मिलि टुबोर्ग बियरको प्रतिबोत्तल उपभोक्ता मुल्य ३४० रुपैयाँ तोकिएको छ भने ५ सय मिलि क्यान बियरको २६० रुपैयाँ पर्नेछ ।

६५० मिलि काल्सबर्ग बियरको उपभोक्ता मूल्य प्रतिबोत्तल ३७० रुपैयाँ तथा ५०० मिलि क्यानको २७० रुपैयाँ पर्नेछ । ६५० मिलि गोर्खा बियरको मूल्य प्रतिबोत्तल ३३० रुपैयाँ तोकिएको छ । गोर्खा ब्रुअरीले यी उत्पादनको नयाँ मूल्य जेठ २३ गतेदेखि लागू हुने जनाएको छ । टाइगर ब्रुअरीले जेठ १७ देखि लागू हुने गरी ६५० मिलिमा रहेको टेन्सबर्ग प्रिमियम लागरको ३५० रुपैयाँ र स्ट्रङको ३१० रुपैयाँ प्रतिबोत्तल मूल्य तोकेको छ ।

५०० मिलिको प्रिमियम लागर मूल्य २७० रुपैयाँ र स्ट्रङको २५० रुपैयाँ पर्नेछ । ३०० मिलिमा लागरको १६५ रुपैयाँ प्रतिबोत्तल मूल्य तोकिएको छ । लण्डन आइस स्ट्रङको मूल्य ६५० र ५०० मिलिमा क्रमशः प्रतिबोत्तल २४० र २०० रुपैयाँ मूल्य कायम भएको छ । नेपाल टाइगर स्ट्रङको मूल्य ६५० मिलिको २३५ रुपैयाँ तथा ५०० मिलिको २ सय रुपैयाँ तोकिएके छ ।

प्रिमियम लागरको मूल्य २६० रुपैयाँ पर्नेछ । अल्कोहलरहित बियरमा यसअघि प्रतिलिटर भन्सार दर १ सय ६५ रुपैयाँ थियो भने अहिले २ सय पुगेको छ । वाइनमा प्रतिलिटर २ सय ४० थियो भने अहिले ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै छ्याङमा पहिले ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो भने अहिले ४० प्रतिशत लाग्ने भएको छ ।

ह्विस्की, भोड्का, रम र जीनमा पहिले प्रतिलिटर १६ सय भन्सार शुल्क लाग्ने गरेकोमा अहिले २ हजार पुगेको भन्सार विभागले जनाएको छ । वियरमा पहिले प्रतिलिटर १५० रुपैयाँ अन्तशुल्क दर लाग्दै आएकोमा अहिले १ सय ६५ पुगेको छ । १७ प्रतिशतसम्म अल्कोहल भएको वाइनमा पहिले अन्तशुल्क दर प्रतिलिटर ३ सय ३५ रुपैयाँ थियो भने अहिले ३ सय ६० पुगेको छ ।

७ प्रतिशतभन्दा बढी अल्कोहल भएको वाइनमा पहिले अन्तशुल्क दर प्रतिलिटर ३ सय ९० थियो भने अहिले ४ सय ३० रूपैयाँ पुगेको छ । छ्याङमा पहिले प्रतिलिटर ३० रूपैयाँ अन्तशुल्क दर लाग्दै आएको थियो भने अहिले ३५ रूपैयाँ लाग्ने भएको छ । १५ युपी शक्ति र ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा (ह्विस्की, भोड्का, रम र जीन) मा प्रतिलिटर अब १ हजार ३ सय २५ रुपैयाँ शुल्क लाग्ने भएको छ ।

त्यस्तै २५ युपी शक्ति र ४२.८ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा पहिले प्रतिलिटर ८ सय ९८ अन्तशुल्क लिइँदै आएको थियो भने अहिले ९ सय ९० रुपैयाँ लाग्ने भएको छ । ३० युपी शक्ति र ३९.९४ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरामा पहिले प्रतिलिटर ८ सय ३६ रुपैयाँ अन्तशुल्क दर लिइँदै आएकोमा अब ९२० लाग्ने भएको छ ।

कच्चा पदार्थमा पनि भन्सार र अन्तशुल्क करिब १० प्रतिशतले बढाइएको छ । यसर्थ स्वदेशमै उत्पादन हुने मदिराको मूल्य पनि बढेको छ । सुर्ती तथा सुर्तीजन्य पदार्थमा पनि १० प्रतिशतले भन्सार र अन्तशुल्क दर बढाइएको छ ।

प्रकाशित मिति : २०७६ जेष्ठ १८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *