२०८१ बैशाख १० गते सोमवार

तुलसीपुरका ३ र बबइको १ क्रसर उद्योग बन्द गर्ने निर्णय

तुलसीपुर, चैत १५ । जिल्ला अनुगमन समितिले दाङ उपत्यकाका चारवटा खोला तथा नदी जन्य उद्योगलाई मापदण्ड र कानुन विपरित संचालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको छ ।


जिल्ला अनुगमन समितिको संयोजकत्वमा गठित समितिका सदस्यहरु सहितको टोलिले दाङ उपत्यकामा संचालनमा रहेका दशवटा क्रसर उद्योग तथा वालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरी चारवटा उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने निर्णय गरेको हो ।


बाँकी उद्योगहरुलाई अपुग कागजात पेस गर्न र मापदण्ड अनुरुप व्यवस्थित भएर संचालन हुनका लागि निर्देशन दिनेपनि निर्णय गरेको छ ।


स्थलगत अनुगमन पछि तुलसीपुरमा बसेको जिल्ला अनुगमन समितिको बैठकले तुलसीपुर उपमहानगरपालिका – १९ ग्वारखोलास्थित जनविश्वास कंक्रिट उद्योग, तुलसीपुर उपमहानगरपालिका–४ हलवार ग्वारखोलास्थित न्यू राप्ती क्रसर उद्योग, तुलसीपुर उपमहानगरपालिका–८ टिकरीस्थित राप्ती वालुवा वासिङ उद्योग र ववई गाउँपालिका–६ स्थित क्रिपाभिज्ञ वालुवा वासिङ उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो ।


क्रिपाभिज्ञ वालुवा वासिङ उद्योग तात्कालिन समयमा दाङ–सुर्खेत सडक निर्माणका क्रममा कालिका कन्सट्रक्शन कम्पनीले संचालन गरेको तर सो कम्पनीको काम सम्पन भइसकेको अवस्थामा पनि सरकारी जग्गा ओगटेर खोलामा उद्योग संचालन भएकाले बन्द गर्ने निर्णय भएको अनुगमन समितिले जनाएको छ ।

त्यस्तै राप्ती वालुवा वासिङ उद्योगले क्रसिङको पनि काम गरेको तथा पातुखोला र गहते खोलाको दोभानमा सार्वजनिक जग्गा अतिक्रमण गरी उद्योग संचालन गरेको हुँदा तत्काल बन्द गर्ने निर्णय गरेको हो ।


ग्वारखोलामा रहेको जनविश्वास कंक्रिट उद्योगले मापदण्ड विपरित खोलामै उद्योग स्थापना गरी नदी जन्य पदार्थ अबैध रुपमा उत्खनन् गरेको हुँदा बन्द गर्ने निर्णय अनुगमन समितिले गरेको हो ।

ग्वारखोला कै न्यू राप्ती क्रशर उद्योगले पनि खोलामै उद्योग संचालन गरेको, मापदण्ड विपरित खोला जन्य पदार्थ सोही स्थानबाट उत्खनन् गरेको तथा तोकिएको राजश्व नबुझाएको कारण बन्द गर्ने निर्णय गरेको हो । यी चार उद्योगहरुलाई गरिएको कारवाहीको जानकारी अख्तियार कार्यालय बुटवल र नेपालगंज कार्यालयमा समेत गराउने निर्णय भएको छ ।


तत्काल बन्द गर्ने निर्णय भएका क्रसर उद्योगहरुबाट अबैध रुपमा संकलन गरिएका खोला जन्य पदार्थ स्थानीय पालिकाहरु तुलसीपुर उपमहानगरपालिका र ववइ गाउँपालिकालाई जफत गरी राजश्व लिएर विक्रि वितरण गर्न पत्राचार गर्नेपनि निर्णय भएको छ ।


सरकारी जग्गा अतिक्रमण गरी संचालन गरिएका ती उद्योगले प्रयोग गरेका जग्गा भालुवाङ ज्वालामाई गणलाई खाली गराउन पत्राचार गर्ने,ती उद्योगहरुमा तत्काल विद्युत सेवा काट्न नेपाल विद्युत प्राधिकरण कार्यालयलाई पत्राचार गर्ने समेत निर्णय भएको छ ।


जिल्ला अनुगमन समितिले घोराही उपमहानगरपालिका हापुरखोलास्थित शिवाज दाङ कंक्रिट उद्योग प्राली, तुलसीपुर उपमहानगरपालिका– १८ सक्राम खोलास्थित स्वर्गद्धारी स्क्रिन प्लान्ट प्राली, भाग्यलक्ष्मी क्रसर उद्योग प्राली तुलसीपुर, के एण्ड एस वालुवा प्रशोधन प्राली ग्वारखोला, समावेसी क्रसर उद्योग तुलसीपुर–१६ ग्वारखोला, मंगलम वालुवा वासिङ उद्योग तुलसीपुर–१२, गणेश वालुवा प्रसोधन उद्योग तुलसीपुर–११ सुकौराको स्थलगत अनुगमन गरेको थियो ।


जिल्ला अनुगमन समितिका संयोजक नित्यानन्द शर्मा नेतृत्वको अनुगमन टोलीमा अनुगमन समितिका सदस्यहरु प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदी, जिल्ला प्रहरी प्रमुख रामवहादुर केसी, आन्तरिक राजश्व कार्यालयका प्रमुख टिकाराज चौलागाई ,डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रशाद श्रेष्ठ, शशस्त्र प्रहरी वलका प्रहरी नायव उपरीक्षक पृथ्वी वहादुर बोगटी, सडक पूर्वाधार विकाश कार्यालयका इन्जिनियर लिलाधर गिरी, जिल्ला समन्वय समितिको कार्यालयका समन्वय अधिकारी मोहन सुवेदी, जिल्ला अनुसन्धान कार्यालय दाङका प्रमुख रमेश डाँगी लगायतको सहभागितामा अनुगमन भएको हो ।


अनुगमन समितिले नदी तथा खोला जन्य उद्योग संचालन नयाँ मापदण्ड २०७९ ले निर्दिष्ट गरेका केही सुचकसहित स्थानीय सरकार र आन्तरिक राजश्व कार्यालयलाई बुझाउनुपर्ने कर लगायत कम्तिमा ३८ वटा सुचकमा रहेर स्थलगत अनुगमन गरेको समितिका सदस्य सचिव मोहन सुवेदीले जानकारी दिए ।


एक दुई वटा उद्योग वाहेक जिल्लामा संचालनमा रहेका अधिकांश क्रसर तथा वालुवा उद्योगहरुले नयाँ मापदण्ड पुरा गर्न नसकेको अनुगमनका क्रममा पाइएको सुबेदीले बताए ।


अधिकांश क्रसर उद्योगहरु खोला किनारामा संचालनमा रहेका, सार्वजनिक जग्गामा तयारी खोला तथा नदी जन्य पदार्थ डम्पिङ गरेका , स्थानीय कर, राजश्व कर, बार्षिक कर चुक्ता तथा वार्षिक लेखा परीक्षणसमेत नगराएको पाइएको अनुगमन समितिले जनाएको छ ।


समितिले त्यस्ता उद्योगहरुलाई तोकिएको मापदण्ड तत्काल पुरा गरी कर र राजश्वका दायरामा आउनपनि निर्देशन गर्ने गरी संबन्धित सवै उद्योगहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ ।


धेरै उद्योगहरु वालुवा वासिङका नाममा दर्ता भएपनि क्रसिङको काम गरि रहेको पनि अनुगमनका क्रममा देखिएको समितिका सदस्य सचिवले सुबेदीले बताए ।

प्रकाशित मिति : २०८० चैत्र १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *