बाँके, चैत ११ । नेपालगञ्जस्थित वाटर पार्कमा मोटर बोट संचालनको अन्तिम तयारी गरिएको छ ।
मोटर बोट सेवा प्रदायक कम्पनी बोटेबोराले सेवा संचालनको अन्तिम तयारी गरेको हो ।
१ करोड ८ लाख लागतमा तयार गरेर परीक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले नयाँ बर्षदेखि सेवा संचालन गर्ने मोटर बोटका संचालक बिष्णु ढकालले बताएका छन् ।
यसअघि उति चर्चा नपाएको तथा प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटर बोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै डीप बोरिङ गरेको छ ।
कम्पनीले वाटर पार्कमा मोटरबोट संचालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।
यहाँ आउने ब्यक्तिले मोटर बोट चड्न प्रति ब्यक्ति दुई सय ५० रुपैंयाको टिकेट लिनुपर्ने नियम बनाइएको छ । त्यो रकमबाट १२ सय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै चार किलोमिटर दुरि सयर गर्न पाउने छन् ।
नेपालगन्जको सोही पार्कमा जेट स्कि, पाँच वटा पावर स्पोट्र्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जी , साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए ।
यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना रहेको उनले जानकारी दिए।