तुलसीपुर चैत १० । मोटो रकमको बार्गेनिङ गर्दै बलात्कार सम्बन्धी झुटो आरोप लगाउँदै अदालतका एक कर्मचारीलाई फसाउन खोजेको अरोपमा एक महिला जेल परेकी छन् ।
दाङ जिल्ला अदालतका एक कर्मचारीले आँफुलाई बलात्कार गरेको आरोप लगाउँदै आएकी घोराही उपमहानगरपालिका – १७ की २८ वर्षीया परिबर्तित नाम रोशनी राना उल्टै कारागार पुगेकी छन् ।
रोशनीले अदालतका तहसीलदारले आफूलाई अदालत भित्रै आफ्नो कोठामा जबरजस्ती बलात्कार गरेको भन्ने आरोप सार्वजनिक रुपमै लगाउँदै आएकी थिइन । रोशनीले ती कर्मचारी संग २५ लाख रुपैंया बार्गेनिङ गर्दै आएको पीडित ती कर्मचारीले बताए ।
उनले भने जति पैंशा नदिए बलात्कार सम्बन्धि मुद्दा दायर गरिदिने धम्किदिदै आएकी भनेर पीडितले प्रहरीमा उजुरी दिएका थिए ।
अदालतका तहसिलदारले दिएको उजुरीका आधारमा महिलाको मोवाइल जफत गरि प्रहरीले काठमाडौंमा प्राबिधिक अनुसन्धानका लागि पठाएको थियो । प्राबिधिक अनुसन्धानबाट महिलाले ती कर्मचारीलाई हनिट्रयापमा पारी अनुचित लाभ लिन खोजेको देखिएको भन्ने प्रतिबेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
सरकारी वकिल कार्यालयले पनि सोही बेहोरासहितको मुद्दा रोशनीका बिरुद्ध चलाएको थियो । त्यसमा सुनवाई गर्दै चैत ७ गते जिल्ला न्यायाधीश लोकबहादुर हमालको इजलासले रोशनीसंग एक लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो ।
धरौटी बुझाउन नसकेपछि महिला जेल चलान भएकी हुन ।