
तुलसीपुर,चैत ६ । तुलसीपुरमा सञ्चालित सामुदायिक वनको कार्ययोजना निर्माण, डाटा पोर्टल तथा उद्यम विकाससम्बन्धी चारदिने तालिम सोमबार सम्पन्न भएको छ ।
समापन कर्यक्रममा बोल्दै प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य छविकुमार खरेलले सामुदायिक वनले उपभोक्तामुखी कानुन बनाउन नसक्दा उपभोक्ताले वनलाई उद्यमसँग जोड्न नसकेको भन्दै तालिम लिएका परियोजना संयोजक र स्थानीय सहजकर्ता स्थानीयस्तरमै पुगेर कार्ययोजना बनाउन सुझाव दिए।
उनले भने– ‘अहिलेको कानुनी बाध्यताका कारण वन कतै विकास निर्माणमा बाधक बनेको छ भने उपभोक्तामैत्री बन्न सकेको छैन । त्यसकारण तपाइँहरुले बनाउने कार्ययोजनाका आधारमा कानुन निर्माण प्रक्रियाको थालनी हुनसक्छ । यो कुरालाई ख्याल गरेर काम गर्नुहोला ।’
ग्रीन फाउण्डेशन नेपाल, दाङका अध्यक्ष विष्णुबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय वन महासंघ तुलसीपुरका सचिव रक्षा काफ्ले, प्रशिक्षक बासुदेव घिमिरे, सहभागीको तर्फबाट कञ्चन गाहालगायतले बोलेका थिए ।