दाङ, फागुन २२ । राजपुर गाउँपालिका–१ सिरियानाका समुदायिक वनका अध्यक्ष, सचिवसहित तीन जना पक्राउ परेका छन् ।
नेपाल भारत सीमाना नाका क्षेत्रको उक्त सामुदायिक वनमा उपभोक्ता समितिकै मिलेमतोमा लाखौं मूल्य बराबरका रुखहरु मनोमानी रुपमा काटेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
डिभिजन वन कार्यालय लमहीका डिभिजन वन अधिकृत राजु क्षेत्रीले वन समुहका अध्यक्ष मोतिबहादुर सुनार, सचिव ओमबहादुर पुन र रुख काट्ने जिम्मा लिएका अर्का एक ब्यक्तिलाई पक्राउ गरिएको बताए ।
तीन जनालाई चार दिन अगाडि नियन्त्रणमा लिइ थुनामा राखिएको र उनीहमरुका बिरुद्ध वन मुद्दा चलाइने क्षेत्रीले बताए ।
वन भित्रका ढलापढा रुख मात्रै काट्न अनुमति प्रदान गरेको थियो । तर, खयर जातका खडा रुखहरु इजाजत विपरित छानी छानी काटेको पाइएको वन अधिकृत क्षेत्रीले जानकारी दिए ।
अनुगमन समितिले ८२ वटा खयरका रुखहरु आँफुखुसी काटेको उल्लेख गरेको छ ।
सिरिया सामुदायिक वन गत साउनमा मात्रै राष्ट्रिय वनवाट समुदायलाई हस्तान्तरण गरिएको थियो ।
राष्ट्रिय बनमा चोरी बढेपछि वन संरक्षण होला भन्ने उदेश्य राखेर समुदायलाई वन हस्तान्तरण गरिएको थियो । दूई महिना पछि असोज महिनामा वार्षिक साधारण सभाको कागज बनाएको छ । त्यसपछि वनका ढलापडा रुख कटानको माग गर्दै डिभिजन वन कार्यालय देउखुरीमा फाइल पेश गरेको थियो ।
सोही माग बमोजिम माघ २९ गते डिभिजन वन कार्यालयले एक सय ६६ ढलापडा रुखबाट तीन हजार सात सय ७० क्वीफिट काठ निकासी गर्न अनुमति प्रदान गरेको थियो । तर, उपभोक्ता समितिका पदाधिकारी र ठेकेदारको मिलेमतोमा छानी छानी सिधा र राम्रा रुखहरु काटेको पाइएको छ ।
डिभिजन वन कार्यालले दिएको अनुमतिमा एक ६६ ढलापढा र त्यो पनि सवै जातका रुख कटानको आदेश भएपनि खएर जातका रुखहरु मात्रै कटान गरिएका छन् ।
ती काठको हालको बजार मुल्य झन्डै एक करोड हारी हारीमा रहेको जानकारहरु बताउँछन् ।