घोराही, फागुन १७ । घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को उद्घाटन लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले गर्ने भएका छन् ।
‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार’ भन्ने मुल नाराका साथ घोराहीमा यही फागुन १८ देखि २१ गतेसम्म हुने अन्तराष्ट्रिय लोकसांस्कृतिक महोत्सवको शुक्रवार मन्त्री थापाले उद्घाटन गर्ने भएका छन् ।
महोत्सव आयोजक मूल समितिका संयोजक तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष बसन्त जोशीले घोराहीको कृषी सामाग्री केन्द्रको प्राङगन (जिल्ला अदालतको पश्चिमतर्फ) मा हुने महोत्सव पूर्व शोभायात्रा हुने जानकारी दिए ।
ट्राफिक चोकबाट सुरु भएर निमाहल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, भानु चोक, शहिद गेट हुदै शोभायात्रा महोत्सव स्थलमा पुग्ने छ ।
दाङको विभिन्न पर्यटन तथा व्यवसायिक क्षेत्रहरुमा टेवा पु¥याउने, आर्थिक संकटको बेलामा पनि आर्थिक चलायनमान गराउने, दाङ सहित लुम्बिनी प्रदेशकै कला संस्कृति तथा पर्यटनलाई विश्वसामु परिचित गराउन आयोजना गरिएको महोत्सवमा नेपालसहित १३ देशका तीन सय बढी कलाकारको प्रस्तुति रहने छ ।
महोत्सवमा फागुन १९ र २० गते नेपाली सांगितिक क्षेत्रका कलाकारहरुको र २१ गते नेपाल सहित १३ देशका कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सवमा नेपाल, अष्ट्रिया, बेल्जियम, बोट्रसवाना, ईस्टोनिया, जर्मन, भारत, इजरायल, मलेसिया, पेरु, पोल्याण्ड, दक्षिण अफ्रिका, दक्षिण कोरिया लगायत देशका कलाकारहरुको प्रस्तुति रहने छ ।
महोत्सव प्रवेश शुल्क एक सय रुपंैया राखिएको छ । यसअघी वि.स २०६८ मा यस्तै महोत्सव लगाइएको थियो ।
