२०८३ असार २८ गते आइतवार

लुम्बिनीमा आजदेखी ११ लाख ६० हजार वालवालिकालाई खोज र खोप’अभियान सुरु


दाङ,फागुन १३ । लुम्बिनी प्रदेशका ११ लाख ६० हजार छ सय ६६ जना बालिबालिकाहरुलाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य राखिएको छ ।

प्रदेश पूर्णखोप सुनिश्चित प्रदेश घोषणा भए पनि बालबालिकाहरुमा दादुरा–रुबेलाको संक्रमण देखिएपछि खोप लगाउन छुटेका बालबालिकासहित लक्षित सबै बालबालिकालाई खोप लगाउन अभियान  थालेको स्वास्थ्य सचिव डा जनार्दन पन्थीले जानकारी दिए ।

आज फागुन १३ देखि २५ गतेसम्म देशव्यापीरुपमा दादुरा रुबेला खोप अभियान सञ्चालन हुने छ। । प्रदेशका १०९ स्थानीय तहका नौ सय ८३ वडालाई लक्षित गरेर खोप अभियान चल्दैछ ।

‘हाम्रो प्रदेशमा वार्षिक ९१ हजार बालबालिका जन्मिने दर देखिन्छ । हाम्रो प्रदेश पूर्णखोप घोषणा भएको प्रदेश हो । तर पनि बालबालिकाहरु अझै खोप लगाउन छुटेको देखिएकाले कुनै पनि बालबालिका खोपबाट बञ्चित नहुन् भन्ने मुख्य ध्यान छ’– उनले भने– ‘खोप अभियानसँगै स्वास्थ्य तथा पोषणको बारेमा जनचेतना दिने गरी कार्यक्रम बनाउनुपर्ने आवश्यकता छ ।’

सरकारले खोप लगाउन छुटेकाहरुलाई खोजेर खोप लगाउन खोज र खोपको नीति अवलम्बन गरेको सचिव डा पन्थीले बताए । प्रदेश पूर्ण खोप प्रदेश घोषणा भए पनि २०७९ मंसिर ३ देखि २०८० पुस १५ गतेसम्म दादुरा रुबेलाको महामारीको रुपमा देखिएको थियो ।

सो क्रममा सबै भन्दा धेरै बिरामी बाँकेमा फेला परेका थिए । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार बाँकेमा तीन सय २१ जना दादुरा रुबेलाबाट बालबालिका संकमित भएका थिए ।

त्यसैगरी बर्दियामा ७२, दाङमा ३९, अर्घाखाँचीमा ११ जना बिरामी फेला परेका थिए । सन् २०२६ सम्ममा नेपालबाट दादुरा रुबेला रोग निवारण गर्न नेपाल सरकारले प्रतिबद्धता जनाए पनि कोभिड–१९ को महामारी र अन्य कारणहरुले गर्दा नेपालमा पछिल्लो समय बालबालिकाहरुमा दादुरा रुबेलाको महामारी देखिएको छ । नियमित दादुरा रुबेला खोपको कभरेज सबै स्थानीय तहमा एकनास छैन । अझै पनि बालबालिकाहरु खोप लगाउनबाट बञ्चित छन् ।

हानिकारक सामाजिक मूल्य मान्यतादेखि जनचेतनाको अभावका कारण अझै पनि बालबालिकाहरु खोप सेवाबाट बञ्चित रहेको पाइएको छ । जसले गर्दा बेलाबखत दादुरा–रुबेलाको संक्रमण बढ्ने गरेको छ ।

दादुरा रुबेला खोप अभियान २०७६/०७७ सम्पन्न पछि गरिएको सर्वेक्षणबाट दादुरा रुबेला खोपको कभरेज ८४ प्रतिशत मात्र रहेको पाइएको छ ।
खोप अभियान निरन्तर चलिरहने प्रक्रिया भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद गिरीले बताए ।

‘बच्चा जन्मिएको १५ महिना भित्र सबै खोप लगाइसक्नुपर्ने राष्ट्रिय नीति हो । १६ महिना पुग्यो भने बच्चाले खोप पाएन । छुटेका बालबालिकालाई हामीले खोजेर खोप लगाउँछौं’– निर्देशक डा. गिरीले भने– ‘पाँच वर्षमुनिका बालबालिका कोही पनि खोपबाट बञ्चित हुने छैनन् ।
यो प्रदेश पूर्ण खोप घोषणा भएको प्रदेश हो । पूर्ण खोप घोषणा भएपछि पनि त महामारी देखियो । छुटेका बच्चाले खोप लगाउन पाएनन् । त्यही भएर अहिले सबै बालबालिकालाई लक्षित गरेर खोप अभियान ‘खोज र खोप’ अभियान सुरु गरिएको बताए ।

तराईका २१ जिल्लामा नौ महिनादखि १५ वर्ष उमेर समुहका र पहाडी जिल्लामा नौ महिनादेखि पाँच वर्ष उमेर समुहका बालबालिकाहरुमा दादुरा रुबेला खोप लगाउने बताए ।

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *