दाङ, फागुन ३ । लुम्बिनीमा प्रदेशमा पुस यता मात्रै भएका बिभिन्न सवारी दुर्घटनामा परि एक सय १७ जनाको मृत्यु भएको छ ।
पुसमा ५९ जना, माघमा ३६ जना र फागुन सुरु भए यता तीन दिनको अन्तरालमा २२ जनाको मृत्यु भएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रशाद प्रसाँईले त्यस्तो जानकारी दिएका हुन ।
ओभरस्पिड र चालकको लापरबाहीका कारण मुख्य गरि सवारी दुर्घटना भएको उनले बताए ।
कपिलबस्तुमा बुधबार मध्य राति महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको रात्री बस दुर्घटनामा परि दश जनाको मृत्यु भएको थियो ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट झन्डै एक सय मिटर तल सुरइना खोलामा खसेको थियो । उक्त दुर्घटनामा दश जना यात्रुको मृत्यु भएको थियो भने ३० यात्रु घाइते थिए ।
त्यसअघि लुम्बिनी प्रदेशकै पाल्पा जिल्लामा मंगलवार बेलुकी पौने ५ बजे तिर जिल्लाको तिनाउ गाउँपालिकाको डुम्म्रेबाट यात्रु बोकेर वडा नं ६ शिखरडाँडा तर्फ जाँदै गरेको लु १ ज २३७१ नं को जीप दुर्घटना परि दश जनाको मृत्यु भएको थियो भने थप १७ जना घाइते भएका थिए । जीप झन्डै सडकदेखि तीन सय मिटर तल खसेको थियो ।
त्यसअघि पुस २७ गते साढे १० बजेतिर दाङको भालुवाङस्थित राप्ती नदीको पुलबाट रात्री बस नदीमा
खसकोे थियो ।
बाँकेको नेपालगंजबाट काठमाडौं तर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस साढे १० बजेतिर राप्ती गाउँपालिका – १ भालुवाङस्थित राप्ती नदी पुलबाट खस्दा १२ जनाको मृत्यु भएको थियो भने २३ जना घाइते भएका थिए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय लुम्बिनीका प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रशाद प्रसाँईले त्यो बस दुर्घटनाको प्रमुख कारणपनि चालककै लापरबाहीले गर्दा भएको बताए ।