तुलसीपुर, माघ २६ । दाङको तुलसीपुर उपमहानगरपालिका – ११ कटाँहामा सिंचाइका लागि बिच्छाइएको भूमिगत पाइपको हालको प्रचलित बजार मूल्य र बिलमा उल्लेखित मूल्य दोब्बर बढी रहेको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।
गत बर्ष बैशाखमा कटाँहा गाउँको डबरामा सिंचाईका लागि एक सय मिटर पाइप बिच्छ्याउने काम गरिएको थियो । त्यो काम स्थानीय हेमराज बस्नेतले गरेका थिए ।
‘वडाध्यक्ष मानबहादुर रावतले काम गर्नु भनेको हुँदा मैले काम गरेको थिए,’ बस्नेतले भने ‘ त्यहाँ बिच्छयाउने पाइप वडा कार्यालयले आँफै किनेर दिएको थियो ।’ नौं महिला अगाडि वडा कार्यालयले किनेर दिएको पाइपको बजार मूल्य र अहिलेको बजार मूल्य भन्दा दोब्बर बढी पाइएको भन्दै नीतिगत भ्रष्टचारको आशंकासहित स्थानीय उपभोक्ता आन्दोलित बनेका छन् ।
वडा कार्यालले तुलसीपुर बजारको ‘सुनगाभा ट्रेडर्स’बाट पाइप खरिद गरि लगेको बिलमा उल्लेख छ । त्यही पाइपको बजारमा होलसेल खरिद मूल्य बढीमा ८४ हजार जनि मात्रै पर्ने हुँदा मिलेमतोमा चरम भ्रष्टचार भएको भन्दै स्थानीयले बिरोध सुरु गरेका हुन ।
मूल्य अस्वभाविक लागेपछि पाइप बिच्छ्याउने काम गरेका बस्नेतसहित स्थानीय उपभोक्ताले बजारका अन्य हार्डवयर पसलहरुमा गइ ‘किसान पाइप’को तत्कालिन र हाल प्रचलित बजार मूल्य बुझेका थिए । त्यसरी बुझ्दा वडा कार्यालयले खरिद गरि उपलब्ध गराएको पाइपको मूल्य झन्डै दोब्बर बढी देखिन आएको दाबी उनीहरुको छ । संस्थागत रुपमा भ्रष्टचार भएको भन्दै आक्रोसित स्थानीय बिहीबार सुनगामा ट्रेडर्समापनि पुगेका थिए ।
ट्रेडर्सका संचालक गोकर्ण गिरीले भने आँफुले वडा कार्यालयलाई कोटेसन उपलब्ध गराएको र उस्ले पाइप लैजाने सहमति जनाएपछि सामान बेचेको हुँदा आँफु निर्दोश रहेको भन्दै बचाउ गरेका थिए ।
‘मैले त कोटेसन अनुसार पाइप दिएको हुँ त्यसैले मेरो कुनै दोष छैन,’ उनले भनेका थिए ‘ तपँइहरु तपाँइहरु वडा कार्यालयमा जबाफ माग्न जानुहोस।’
नौं महिना अगाडि आँफुले बेचेको उक्त पाइपको बजार मूल्य अहिलेका भन्दा ५० प्रतिसत बढी महंगो रहेको समेत दाबी गरेका थिए । अहिले ठिक आधा मूल्य घटेको पनि उनले बताएका थिए ।
स्थानीय बासी तथा वडा सदस्य यज्ञबहादुर बस्नेत, थप दुई वडा कार्यालयका कर्मचारीसहित स्थानीय गिरीको पसलमा पाइपको मूल्य किन त्यति धेरै महंगो परेको हो भनेर बुझ्न गएका थिए ।
पाइप बिच्छ्याउने कामको जिम्मा लिएका बस्नेतसहित स्थानीय उपभोक्ता भने वडाध्यक्ष मानबहादुर रावत र हार्डवयरका संचालकका बीचमा यो आर्थिक अनियमितातामा मिलेमतो रहेको दोषारोपन गरिरहेका छन् । वडाध्यक्ष रावतले आँफु पाइप किन्न पसलमा नगएको हुँदा आँफु निर्दोश रहेको भन्ने प्रतिक्रिया दिए ।
‘ यो कुरा उहाँहरुले पाइप किन्न गएका वडाका दुई कर्मचारी, स्थानीय वडा सदस्य वा हार्डवयर ब्यबसायी गिरी कस्को बदमासी हो भनेर पो सोध्नु पर्छ,’ वडाध्यक्ष रावतले भने ‘म जाँदै नगएको ब्यक्तिलाई बेकारमा किन दोष लगाउनु ?’
आँफुले कुनै पनि बदमासी नगरेको बरु आँफुले राम्रो काम गरि रहेको देखेर डाहा गर्नेहरुले षडेन्त्र पूर्वक बदनाम गर्न खोजेको वडाध्यक्ष रावतको तर्क थियो ।
तर, त्यस्तै दोषारोपन तथा गुनासो जनप्रतिनिधका प्रति पसलका संचालक गिरीले पनि गरेका थिए ।
‘ पैंशा नखाइ कामै गर्न नमान्ने अनि आज अरुलाई दोषारोपन गर्दै उम्कन खोज्ने जनप्रतिनिधिको चरित्र उदेग लाग्दो छ,’ उनले भने ।
स्थानीय उपभोक्ता भने संस्थागत अनियमितता भएको भन्दै त्यसका बिरुद्ध अख्तियार जाने बताउँछन् ।
पाइप बिच्छयाउने काम गरेका बस्नेतले असार महिना भित्रै गरि सकेका थिए । बस्नेतका अनुसार खाडल खन्न आवश्यक पर्ने जेसिबी, पाइप जडानका लागि आवश्यक पर्ने अन्य सामाग्री आँफै खरिद गरि हाल्न र ती सबैको खर्च पछि एक मुष्ट लैजान स्थानीय वडा प्रतिनिधिले आग्रह गरेका थिए ।
काम सकेपछि बस्नेतले जेसिबी, लागेको मजदुर खर्च र उनले ब्यक्तिगत रुपमा गरेको खर्च जोडेर पाउनु पर्ने झन्डै ६६ हजार बताउँछन् । त्यो भुक्तानी माग्न जाँदा वडा कार्यालयले दुई लाख पाइप किन्न खर्च भइ सकेको भन्दै उनलाई थप रकम दिन नसकिने जबाफ दिएको थियो ।
वडाध्यक्ष रावतलाई स्थानीय वडा सदस्य संग लागेको खर्च माग्न आग्रह गरेका र वडा सदस्यले वडाध्यक्ष रावत संग लागेको खर्च माग्न भनेका थिए । वडाध्यक्षले रकम दिन नसकिने बताएपछि पाइपको प्रचलित बजार मूल्यका बारेमा खोजी गर्दा अनियमितताको आशंकाका प्रसस्तै संभावनाहरु देखिएको स्थानीय गुरुप्रशाद केसीलेपनि बताए ।
‘पाइपको प्रचलित बजार मूल्य एक सय दुई प्रतिसत बढी महंगो पाइएको हुँदा अनियमितताको आशंका स्पष्ट भइ सकेको छ,’ स्थानीय बासी तथा वडा सदस्य यज्ञबहादुर बस्नेतले भने ‘ अब यसको छानविन हुनै पर्छ ।’
मिलेमतोमा आर्थिक अनियमितता गर्ने जो कोही भएपनि कारबाही हुनुपर्ने उनले माग गरेका छन् । ‘हाम्रा वडाध्यक्ष नै दोषी भएपनि कारबाही हुनुपर्छ,’ उनले भने ‘ बदमासी भएको छ भन्ने स्पष्ट भइ सकेको छ ।’