तुलसीपुर, माघ २५ । दाङको घोराही उपमहानगरपालिका – १५ भरतपुर घर बताउने १८ बर्षीय दीपक चौधरीको घर परिवार पहिचान हुन सकिरहेको छैन ।
तीन दिन खोजी गर्दापनि प्रहरीले दीपक चौधरीका आफन्त र घर परिवार पत्ता लगाउन सफल भएको छैन ।
उनी १५ बर्ष पछि घर फर्किएको बताउने गर्छन ।
त्यसैले प्रहरीले दीपकको तस्बिर तीन दिन अघि सार्वजनिक गर्दै उनको घर परिवार पहिचानको लागि सार्वजनिक रुपमा आग्रह गरेको थियो ।
दीपकका अनुसार सानै छँदा उनलाई ठूलो बुवाले भारत लगेर गएका थिए । भारतीय प्रहरीले दीपकलाई केही दिन पहिले कैलाली प्रहरीको जिम्मा लगाएको थियो । कैलाली प्रहरीले घर दाङको घोराही बताउने दीपकलाई समन्वय गरि यहाँ पठाइदिएको हो ।
प्रहरीले यो बीचमा तीन दिन घुमाउँदै दीपकको घर तथा परिवारको खोजी गर्दै आएको छ ।
तर, पनि दीपकको घर तथा अभिभाबक अझैं फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिए ।
दिनभर गाडीमा राखेर संभावित गाउँ ठाउँ घुमाउँदै दीपकलाई चिनाउने र चिन्ने मानिसको खोजी हुँदै आएको डिएसपी मल्लले बताए ।