दाङ, माघ २३ । नेकपा माओवादी केन्द्र दाङले भ्रष्टाचार लगायतका जघन्य अपराधलाई पार्टीको पनि कार्वाहीको बिषय बनाउनुपर्ने सुझाव दिएको छ ।
फागुन १ देखि ३ गतेसम्म हुने पार्टीको विधान अधिवेशनलाई सुुझाव दिन तुलसीपुरमा आयोजित माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको बैठकले पार्टी केन्द्रलाई यस्तो सुुझाव दिएको हो ।
बैठकले पार्टी बिधान अनुसार चल्नुपर्ने, युवा मैत्री विधान बनाउनुपर्ने, गणतन्त्र, समावेशिता र समानुपातिकमैत्री बिधान बन्नुपर्ने, महिलाको सहभागिता ३५% बाट वृद्धि गर्नुपर्ने, तल्ला समितिको सिफारिस बाध्यकारी हुनुपर्ने ब्यवस्था गर्नुपर्ने, पार्टी र सत्तामा आलोपालो ब्यवस्था गर्नुपर्नेलगायतका सुझाव दिएको हो ।
जिल्ला संयोजक तुलसीराम पुनको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मल आचार्यले माओवादी पार्टी इतिहासमा पहिलोपटक विधान अधिवेशन हुनु आफैमा ऐतिहासिक भएको उल्लेख गर्दै युद्धबाट आएको पार्टी भद्रगोल छ भन्ने गलत भाष्य स्थापित हुनु दुःखद भएको बताए ।
‘हामी नेकपा(मशाल) कालमा होस या जनमोर्चाकालमा होस अथवा एकताकेन्द्र बाट नेकपा (माओवादी) हुँदै युद्ध सञ्चालन गर्दा होस पार्टी निकै ब्यवस्थित थियो’– उनले भने– ‘जब शान्तिकाल सुरु भयो, त्यसपछि पार्टी भद्रगोल अवस्थामा आयो । यसलाई सच्याउन आसन्न विधान अधिवेशन कोशेढुंगा सावित हुने छ ।’
माओवादी नै वास्तविक अर्थको बैकल्पिक शक्ति भएको उल्लेख गर्दै उनले केही कमीकमजोरी हुँदा बहस गर्ने गरिएको र यो मुलुकको नेतृत्व माओवादीबाट मात्र संभव छ भन्ने पुष्टि भइसकेको बताए ।
इञ्चार्ज आचार्यले अर्को प्रसंगमा भने– ‘सरकारले चालेको सुशासनको कदमको सबैतिरका दलाल नोकरशाहीहरुले असहयोग गरेका छ्न । यस बिषयमा जनता सचेत भइ सरकारको काममा होस्टेमा हैसे गरेर मात्र शुशासनको कदम सफल हुने छ ।’
बैठकमा पार्टी केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश संसदीय दल प्रमुख सचेतक इन्द्रजीत थारु, केन्द्रीय सदस्य भीमकुमारी बुढा, केन्द्रीय सल्लाहकार शेशुराम भण्डारी, प्रदेश उपाध्यक्ष लुमाकान्त न्यौपाने र केन्द्रीय कला साहित्य बिभाग सदस्य रामप्रसाद जैसीले पनि सम्बोधन गरेका थिए ।
बैठक सञ्चालन जिल्ला सचिव विश्वराज आचार्यले गरेका थिए ।