तुलसीपुर, माघ १४ । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीले प्रकाशन गरेको मेट्रो म्यागजिनको बिमोचन गरिएको छ ।
कानून सम्बन्धि विभिन्न कुरा र गतिविधिहरु समेटेर प्रकाशन गरेको बुलेटिनको नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले विमोचन गरेका हुन ।
विमोचन कार्यक्रममा प्रमुख अतिथि रहेका जिएमले कानूनका विभिन्न विषयमा आधारित रहेर बुलेटिन सामग्रीहरु प्रकाशन हुनुपर्ने बताए ।
उनले पत्रकारिता डिजिटल युगमा प्रवेश गरि सकेको हुँदा डिजिटल संस्करणमा प्रकाशित गरिनु समय सुहाउँदो हुने बताए ।
कार्यक्रममा रिपोर्टर्स क्लव लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीले विद्यार्थीको पहलमा म्यागजिन प्रकाशन हुनु महत्वपूर्ण काम भएको धारणा ब्यक्त गरे ।
इन्सेक दाङका प्रतिनिधि जेएन सागरले कानूनका धेरै कुराहरु संवेदनशिल हुने भन्दै विद्यार्थीले सर्वसाधारणलाई कानुन बुझाउनुपर्ने जोड दिए ।
नेपाल पत्रकार महासंघ दाङकी सहसचिव दिप्तीशिखा चौधरीले कानूनका विषयमा समाचार लेख्ने पत्रकारको संख्या कम भएको अवस्थामा विद्यार्थीले गरेको कामको प्रशंसा गरिन ।
कलेज प्रमुख वशन्त आचार्यले कलेजले विद्यार्थीलाई नयाँ काममा संलग्न गराउँदै लैजानु पर्ने बताएका थिए ।
कानून संकाय संयोजक विजय पोख्रेलले विद्यार्थीलाई सृजनात्मक बनाउनका लागि पत्रिका प्रकाशन गरेको उल्लेख गरे ।
विद्यार्थी दीपा बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रमको विद्यार्थी दुरविन वलीले पत्रिका प्रकाशन गर्नुको उद्देश्यका बारेमा जानकारी दिएका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी पारस वलीले गरेका थिए ।