२०८० फाल्गुन २० गते आइतवार

फालाबाङ,मखनटाकुरी हुँदै दाङ जोड्ने सडक निर्माणको योजना सुरु


शंकर केसी, सल्यान, माघ १४। कर्णालीको सल्यान र लुम्बिनीको दाङलाई जोड्ने गौरवको सडक निर्माणको योजना सुरु भएको छ । सल्यानको त्रिवेणी गाउँपालिकाले गौरबको योजनाको रूपमा राखेको लुहाम फालाबाङ, मखनटाकुरी हुदै दाङ जोड्ने सडकको स्तरउन्नती कार्य सुरु भएको हो ।


एक करोड ५० लाख रूपैयाँ लागत रहेको उक्त सडकको स्तरोन्नति कार्य सुरु भएको गाउँपालिकाका अध्यक्ष खिम बहादुर रावतले जानकारी दिए । दुई प्रदेशलाइ जोड्नको लागि बैकल्पिक सडकको रूपमा लुहाम फलाबाङ, मखनटाकुरी हुदै दाङ जोड्ने सडक रहेको छ ।


गाउँपालिका अध्यक्ष रावतले केही दिन अघि सडकको शिलान्यास गर्दै निर्माण पक्षलाइ समयमै गुणस्तरीय काम गर्न र गाउँपालिकाको प्राविधिक टिमलाइ नियमित निगरानी तथा अनुगमनका लागि निर्देशन दिएका थिए ।

कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायतका क्षेत्र सहित सडक निर्माण तथा भौतिक पुर्वाधारको क्षेत्रमा पनि त्रिवेणी गाउँपालिकाले प्राथमिकताको साथ काम गरिरहेको उनको भनाइ छ ।

आर्थिक बर्षको अन्त्यमा हुने चापलाइ घटाउनका लागि त्रिवेणी गाउँपालिकाले समयमै योजना सम्झौता, कार्यान्वयनको पाटोलाइ तिब्रताको साथ अघि बढाइरहेको छ ।

गाउँपालिकाका गौरवका योजना तथा अन्य साना योजना तथा कार्यक्रम समयमै कार्यान्वयन र सम्पन्न गर्नका लागि आफुहरू निरन्तर लागिरहेको प्रमुख प्रशासकीय अधिकृत खुम बहादुर केसीले जानकारी दिए । उनका अनुसार कोलचौर देखि दाङ जोड्ने सडक, लुहाम पोखरीज्यूला ढोरचौर सडक तथा सल्लेखोला सिम्क पिपलबोट सडक यस बर्षका मुख्य गौरवका आयोजनाहरू हुन् ।

यी आयोजनाहरू समयमा नै टेण्डर प्रक्रियाद्वारा सम्झौता भई कतिपय योजना निर्माण चरणमा प्रवेश गरिसकेकोले निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने आधार तयार भएको प्रमुख प्रशासकीय अधिकृत केसीको भनाइ छ ।

प्रकाशित मिति : २०८० माघ १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *