तुलसीपुर, पुस २७ । राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निरञ्जनकुमार थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
उनले निर्वाचन कार्यालयको कार्यतालिका अनुसार पुस २३ गते लुम्बिनी प्रदेशबाट उम्मेदवारी दिएका थिए ।
राप्रपाका थापाले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लिएको लुम्बिनी प्रदेश निर्वाचन कार्यालयका प्रमुख लक्ष्मीदत्त चलाउनेले बताए ।
दिउँसो १ बजे अगाबै थापाले उम्मेदवारी फिर्ता लिएको र दिउँसो २ बजेपछि उम्मेदवारको अन्तिम नामाबली प्रकासित गरिएको उनले जानकारी दिए ।
अब लुम्बिनीमा दुई सिटका लागि ६ जनाका बीचमा प्रतिष्पार्ध हुने निश्चित भएको छ ।
महिला कोटामा गठबन्धनबाट नेपाली कांग्रेस गुल्मीकी नेतृ विष्णुकुमारी सापकोटा, नेकपा एमाले दाङकी नेतृ तुलसाकुमारी केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी कपलबस्तुकी नेतृ की विजयालक्ष्मी सिंहको उम्मेदवारी परेको छ ।
त्यस्तै अन्यमा गठबन्धनबाट नेकपा माओवादी केन्द्र रोल्पाका नेता झक्कुप्रसाद सुवेदी, एमाले बाट पाल्पाका नेता झपेन्द्रबहादुर घर्ती र जनमत पार्टीबाट नवलपरासी पश्चिमका नेता बालगोविन्द चौधरीको उम्मेदवारी परेको छ ।
लुम्बिनी प्रदेश सभामा ८७ सदस्य रहेका छन् । एक सय नौ स्थानीय तहका दुई सय १८ प्रमुख÷उपप्रमुख छन ।
प्रदेश सभा सदस्यको एक मत बराबर ५३ र स्थानीय तहका पदाधिकारीको एक मत बराबर १९ मत भार गणना हुने गर्छ । राष्ट्रिय सभा सदस्य चुन्न लुम्बिनी प्रदेशमा कुल तीन सय पाँच जनाले मताधिकार पाउने छन् ।
लुम्बिनीमा प्रदेशमा प्रदेश सभा सदस्य तर्फ कूल मत भार चार हजार ६ सय ११ र स्थानीय तह तर्फको कुल मतभार चार हजार एक सय ४२ रहेको छ । यो प्रदेशमा कूल मतभार आठ हजार सात सय ५३ रहेको छ ।
प्रदेशको अंकगणितको मतभारलाई विश्लेशन गर्दा गठबन्धन दल हाबी देखिन्छन ।
राष्ट्रिय सभा सदस्यमा लुम्बिनी प्रदेशबाट अनिता देवकोटा र कुमार दसौंदीकोे कार्यकाल सकिन लागेपछि रिक्त हुन जाने पदपुर्तिका लागि माघ ११ गते निर्वाचन तोकिएको छ ।