घोराही, पुस २३ । राष्ट्रियसभा सदस्यका लागि लुम्बिनी प्रदेशमा सात जनाको उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार गुल्मीकी नेपाली कांग्रेसकी नेतृ बिष्णुकुमारी सापकोटा र रोल्पाका नेकपा माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले उम्मेदवारी दर्ता गराए ।
सापकोटाले महिला कोटा र सुवेदीले अन्य कोटाबाट उम्मेदवारी दर्ता गराएका थिए । सापकोटाको प्रस्तावकमा दाङको बबई गाउँपालिका अध्यक्ष कुलबहादुर खत्री र समर्थकमा दंगीशरण गाउँपालिका शम्भु गिरी बसेका छन् ।
त्यस्तै सुवेदीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य मिना बुढामगर र समर्थकमा प्रदेशसभा सदस्य दिलकुमारी बुढामगर बसेका छन् ।
त्यस्तै नेकपा एमालेबाट दाङकी नेतृ तुलसा केसीले महिला कोटा र पाल्पाका झेविन्द्रबहादुर घर्ती क्षेत्रीले अन्य कोटामा उम्मेदवारी दर्ता गरेका छन् ।
केसीको प्रस्तावकमा दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी र समर्थकमा लुम्बिनी प्रदेश सभा सदस्य सीता शर्मा चौधरी बसेका छन् । घर्तीको प्रस्तावकमा लुम्बिनी प्रदेशसभा सदस्य गिरिधारीलाल न्यौपाने र समर्थकमा लुम्बिनी प्रदेशसभा सदस्य तुलसीप्रसाद चौधरी बसेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट महिला कोटामा कपिलबस्तुकी बिजया लक्ष्मी सिंह र रुपेन्देहीका निरञ्जन थापा अन्य कोटाबाट उम्मेदवारी दिएका छन् ।
यहाँ जनमत पार्टीको तर्फबाट एउटा मात्रै उम्मेदवारी परेको छ । नवलपरासी पश्चिमका बालगोबिन्द चौधरीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए ।
दुई पदका लागि सत्ता गठबन्धन दल काँग्रेस र माओबादीबाट संयुक्त रुपमा एक पुरुष र एक महिला गरि एक ÷ एक जना, एमालेबाट एक महिला र एक पुरुष, राप्रपाबाट एक महिला र एक पुरुष र जनमतबाट एक पुरुष गरि तीन महिला र चार पुरुषले उम्मेदवारी दर्ता गराएका हुन ।
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न जानेहरु दलबलसहित पुगेका थिए ।
मनोनयन दर्ता गराएपछि उम्मेदवारहरुले आफ्नो उम्मेदवारी सुसानका लागि, मुलुकको सम्बृद्धिका लागि हुनुका साथै राजनीतिलाई सही ट्रयाकमा ल्याउनका लागि रहेको बताएका थिए ।