तुलसीपुर , पुस १७ । गोली हानी हत्या गरिएका घोराहीका एक ब्यक्तिको घटना अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका – ६ अघराका ४५ बर्षीय शिवराज केसीको गोली हानेर हत्या गरेको अवस्थामा पुस १२ गते बंगलाचुली गाउँपालिका – ४ स्थित कोइला खानीको सुरुङभित्र शब फेला परेको थियो ।
केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर गएका थिए ।
शिवराजको हत्यामा संलग्न रहेको आशंकामा बंगलाचुली गाउँपालिका – ४ गदारीका ४३ बर्षीय शेरबहादुर कँवर, उनकी ३५ बर्षीया श्रीमती दीपा कवँर र दीपाका भाइ २९ बर्षीय तिलक पुनसहित भरुवा बन्दुक दिने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी स्रोतका अनुसार प्रहरीले शिवराज हत्या प्रकरणबारे आफ्नो अनुसन्धान पुरा गरि सकेको हुँदा बुधबार घटना सार्वजनिक गरिने छ ।
श्रीमति दीपा संगको सम्बन्धका कारण शेरबहादुरले योजना बनाइ शिवराजको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको घटना अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
हत्या पछि भारत पुगेका श्रीमान – श्रीमतिलाई प्रहरीले पक्राउ गरि जिल्ला ल्याएको हो । उनीहरुको बयानका आधारमा थप दुई जना पक्राउ परेका हुन । बन्दुक दिने ब्यक्तिपनि बंगलाचुली कै रहेको प्रहरीले बताएको छ ।
रोजगारीको सिलसिलामा भारत आउजाउ गरि रहने शेरबहादुरले श्रीमति दीपा र शिवराज संगको सम्बन्धको सुँइको पाएपछि हत्या योजना बुनेका प्रहरी अधिकारी बताउँछन् ।
दीपाले सोही सम्बन्धका कारण शिवराजलाई बंगलाचुलीस्थित कोईलाखानीको सुरुङसम डो¥याएको कुरा खुलेको प्रहरी अधिकारी बताउँछन् ।