२०८३ कार्तिक २३ गते आइतवार

पुनःफर्कने भयो बिक्रमको गुमेको आँखाको ज्योती

तुलसीपुर, पुस ११ । जुम्लाको तिला गाउँपालिका-१ पिरु बस्ने बिक्रम बस्नेत यतिवेला आँखा उपचारका लागि तुलसीपुर स्थित राप्ती आँखा अस्पतालमा छन् ।

आँखाको नानि पग्लिएर कामै नलाग्ने भएपछि उपचारका लागि उनी राप्ती आँखा अस्पताल पुगेका हुन् । जथाभावी औषधीको प्रयोगले उनको आँखाको नानी पग्लिएर ज्योती नै गुमेको छ ।

आर्थिक समस्या र गरिविका कारण जीवीकोपार्जन गर्न हम्मे पर्ने बिक्रमले दाङ पुगेर आँखाको उपचार गराउँछु भन्ने कल्पना समेत गरेका थिएनन् ।

गाउँमा आँखा शिविर सञ्चालन गर्न गएको टोलीले उनको आँखाको उपचार निःशुल्क गरिदिने भनेपछि आफु निकै खुशी भएको उनले सुनाए।

अस्पतालका नेत्र विशेषज्ञहरुले आँखाको नानी प्रत्योरोपण हुने र गुमेको ज्योती फर्कने भनेपछि ६२ वर्षका बिक्रम निकै खुशी देखिन्थे । शल्यक्रियाको पालो कुरेर बसिरहेका उनले आफ्नो लापरबाहीका कारण आँखाको नानी कामै नलाग्ने भएको बताए ।

आँखा चिलाउने, दुख्ने समस्या आएपछि आँखा जाँच नै नगराई गाउँमै रहेको मेडिकलबाट आफुखुशी औषधी किनेर प्रयोग गर्दा अहिले आँखाको नानी प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको उनी बताउँछन् ।

‘आँखा चिलाउने, दुख्ने गरेपछि गाँउकै अस्पतालबाट औषधी किनेर आँखामा राख्ने गरे केही समय ठिक पनि भयो तर विस्तारै सहनै नसक्ने गरी आँखा दुख्ने, चिलाउने हुन थाल्यो । उनले भने-‘ एकवर्षसम्म त्यही औषधी प्रयोग गरीरहे अहिले नानी नै फेर्नुपर्ने भएछ । ’

केहीसमय पहिले गाउँमा आँखा शिविर सञ्चालन भएपछि त्यहाँ पुगेर आँखा जाँच गराउँदा आँखाको नानी पग्लिएको छ भन्ने थाहा पाएको उनले बताए। उनको शल्यक्रियाको लागि लाग्ने २८ हजार रुपैयाँ अस्पतालले नै ब्यहोर्ने भएको छ ।

शिविरमा आँखाको नानी फेर्नुपर्ने,गाउँमा उपचार सम्भव नहुने भएपछि उपचार गराउन राप्ती आँखा अस्पतालमा आएको उनका सहयोगी टकबहादुर बस्नेतले बताए ।

बिक्रमको एउटा छोरा अपांग, एकछोरा सम्पर्क विहिन र एकछोरा सानै उमेरको भएकोले आफु सहयोगीको रुपमा आएको टेकबहादुरले बताए ।

समय-समयमा गाउँमा शिविर सञ्चालन हुँदै आएको भएपनि अशिक्षा र अन्धविश्वासका कारण यस्ताखाले समस्याहरु देखिने गरेको उनले बताए ।

आँखा रातो भएमा अक्षता फुकाउन जाने, देउता विग्रिए भन्ने, महिनावारी भएका महिलाले छोएका कारण आँखा रातो भएको, दुखेको हो भन्ने गलत मानसिकताका कारणले समयमा आँखाको चेकजाँच नगर्ने र पछि ठुलो समस्या निम्तिने अवस्था अँझैपनि रहेको उनको भनाई छ ।

राप्ती आँखा अस्पतालकी कर्निया रोग एवं नेत्र रोग विशेषज्ञ डा. ज्योती साप्कोटाले जथाभावी औषधीको प्रयोग गरेका कारण आँखाको नानी फुट्ने अवस्थामा पुगेको बताइन् ।

बिक्रमको आँखा फुला परेको र स्टोरेड भन्ने औषधीको मनपरी प्रयोगले नानी पातलीदै गएर कामै नलाग्ने भएको उनले बताइन् ।

बिक्रमको शल्यक्रियाको तयारी गरिरहेकी डा. साप्कोटाले कुनै बिरामीको शल्यक्रिया संगै ज्योती फर्कने र कुनै बिरामीको दोश्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने हुनसक्ने बताइन्।

उनले नबुझेर औषधी प्रयोग गर्दा त्यसले अमृत र विषको काम एकैपटक गर्ने भएकाले औषधी प्रयोगमा सचेत बन्न आग्रह समेत गरिन् ।

प्रकाशित मिति : २०८० पुष ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *