दाङ,पुस १० । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेसका पूर्वमन्त्री सहित प्रतिनिधिसभा सदस्यमा पराजित नेता आकांक्षी देखिएका छन् ।
लुम्बिनी प्रदेशका रुकुमपूर्व बाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको नाम कांग्रेस प्रदेश कार्यसमितिमा सिफारिस गरेका छन् ।
यसरी सिफारिस हुने शीर्ष नेतामा अर्घाखाँचीबाट पुष्पा भुसाल, गुल्मीबाट चन्द्र केसी, प्युठानबाट डा. गोविन्द पोखरेल, रुपन्देहीबाट भरत शाह लगायत छन् । कांग्रेस केन्द्रीय सदस्य भुसाल २०७९ को प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट र शाह रुपन्देही निर्वाचन क्षेत्र–५ बाट उम्मेदवार थिए ।
कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले जिल्लाबाट सिफारिस भइ आएका उम्मेदवारको बारेमा कैफियत खुलाएर सबैको नाम केन्द्रमा पठाउने निर्णय गरेको कांग्रेसल लुम्बिनी सहमहमन्त्री विष्णु मुस्कानले बताए ।
सबैको विगत र हालको अवस्था, गत निर्वाचनमा खेलेको भूमिका लगायत पृष्ठभूमि खुलाएर मात्रै नाम सिफारिस गरिने उनले बताए ।
सिट बाँडफाँडमा लुम्बिनीमा कांग्रेसले एक महिला र एक पुरुष गरी दुई सिट पाउने भएपनि बारम्बार अवसर लिएकालाई पार्टीले विचार गर्नुपर्ने कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु पोखरेलले बताए । ‘यसअघि मन्त्री, सांसद भएका र पटकपटक अवसर पाएकालाई भन्दा नयाँलाई पार्टीले अवसर दिनुपर्छ,’ उनले भने ।
कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनको अध्यक्षमा बसेको बैठकमा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी उपस्थित थिए । पार्टी र सरकारको काम कारबाही सहित सम्बन्धलाई सुमधुर बनाएर लैजाने लगायतका निर्णय भएको उनले बताए ।
लुम्बिनीमा फागुन २० गते एमाले तर्फबाट कुमार दसौदी र कांग्रेसकी अनिता देवकोटाको पदावधि सकिँदैछ । पुस २३ गते राष्ट्रियसभा उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका छ ।