दाङ, वैशाख २८ । सल्यानका बिभिन्न सामुदायिक बनमा लागेको डढेलोका कारण दुईजनाको मृत्यु भएको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकाको सामुदायिक वनमा लागेको आगोबाट दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवं डिएसपी विरेन्द्रबहादुर शाहीले शनिवार विहान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ स्थित भूवनेश्वरी सामुदायिक बनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा जलेर सिमपानी निबासी ६५ बर्षीय पेन्टी बोहराको मृत्यु भएको जानकारी दिए । वनको आगो निभाउने क्रममा स्थानीय ४० बर्षीय खगेन्द्र बोहरा गम्भीर घाइते भएका छन् । उनको जिल्लाको उपचारपछि थप उपचारका लागि बाँके जिल्लामा रेफर गरिएको जिल्ला प्रहरी प्रबक्ता पंचलाल गोलेले जानकारी दिए ।
जिल्लाको शारदा नगरपालिका ९ दुवेरी टोल निवासी अन्दाजी ६३ बर्षीय गोर्बधन पुनको पनि वनमा लागेको आगोको कारण मृत्यु भएको छ । काफलखोली सामुदायिक बनमा शुक्रबार बेलुका पुनको शव डढेको अवस्थामा फेला परेको प्रहरी निरिक्षक गोलेले बताए ।
प्रहरीले पुन बैशाख २४ गते घरबाट गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा जान भनि गएको र त्यही क्रममा वनको डढेलोमा परेर मृत्यु भएको बताएको छ ।
त्यस्तै सामुदायिक बनमा लागेको आगो बस्तीमा सल्किदा छत्रेश्वरी गाउँपालिका र कपुरकोट गाउपालिकामा झन्डै एक दर्जन जति घर जलेर नष्ट भएको प्रहरीले बताएको छ । हाल सल्लाको आधा दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको छ ।