दाङ, कात्तिक १६ । बाँकेका योगराज ढकाल ‘रिगल’को खोजीमा प्रहरी परिचानल गरिएको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहोराले सर्बौच्च अदालतको आदेश लगतै प्रहरी ‘रिगल’को खोजीका लागि परिचालन गरिएको जानकारी दिए ।
बिहीबार मात्रै सर्बौच्चले रिगलको कैद मिनाहा बदर गर्दै तत्काल पक्राउ गर्न आदेश दिएको हो ।
संविधान दिवसको दिन असोज २ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको योगराज ढकाल ‘रिगल’को बाँकी कैद मिनाहा संविधान र कानुन विपरीत देखिएकोले बदर सर्बौच्चको फैसलामा उल्लेख छ ।
रिहा हुँदा रिगलले ८ वर्ष अर्थात झन्डै ५० प्रतिशत सजाय भुक्तान गरिसकेका थिए। त्यसैका आधारमा रिगललाई आममाफी दिने निर्णय सरकारले गरेको थियो । सरकारको सिफारिसका आधारमा राष्ट्रपतिले माफी दिएका थिए ।
सरकारको निर्णय संविधान र कानुनका व्यवस्था र अदालतले दिएका फैसलाहरू अनुकूल नदेखिएन र बाँकी कैद मिनाहा गर्दा वस्तुगत कारण खुलाएर मात्रै गर्नुपर्ने देखिएको फैसलामा भनिएको छ ।
सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णय विरूद्ध हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारतीले गत असोज २२ गते सर्वौच्चमा रिट दायर गरेकी थिइन ।
०७२ असार २८ गते नेपालगंजको धम्बोझी चोक नजिकै चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा मुख्य योजनाकार रिगल नै रहेको आरोप रहेको छ ।
घटनाको दुई महिना पछि रिगल बाँके जिल्ला अदालतमा गई आत्मसमर्पण गरेका थिए। त्यसपछि उनी पुर्पक्षका लागि कारागार पठाइएका थिए।
जिल्ला अदालत बाँकेले ०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैदको सजाय सुनाएको थियो।
अदालतले अन्य १२ जनालाई पनि कसुरअनुसार तीन वर्षदेखि १० वर्षसम्मको सजाय तोकेको थियो।
तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलासले घटनामा संलग्नमध्ये रिगलकै समूहका सोहनसिहं ढकाललाई १० वर्ष जेल सजायको फैसला सुनाएका थिए।
सोही समूहका माधव नेपाली, बिराज पाठक, हरि वली, मनीष चौलागाईं, प्रितम थापा, यमबहादुर बुढा मगर र केशवबहादुर रोकायालाई जनही तीन वर्षको काराबास सजाय तोकिएको थियो।
घटनामा संलग्न भनिएका प्रशान्त गौतम भनिने प्रेमध्वज खत्री, विशाल भनिने छविलाल बस्नेत, नवराज खत्री र मोहनलाल खड्कासहित सबैलाई जन्मकैदको सजाय तोकेको थियो।