२०८१ असोज २४ गते बिहिवार

तुलसीपुरमा गोरखा कलेजका बिद्यार्थीले पढ्दै गरेको फूलखेती

तुलसीपुर,कात्तिक १५ । जहाँ इच्छा त्यँहा उपाए । असल कामका लागि लागि परे असम्भव के छ र ? यस्तै एउटा उदाहरण तुलसीपुरस्थित गोरखा मोडेल कलेज अध्यनरत विद्यार्थीले पर्दशन गरेका छन् ।


पढाइ संगसंगै फूल खेती गरेर उनीहरुले समाजमा उदाहरण प्रस्तुत गरेका छन् । यति खेर तुलसीपुर उपमहानगरपालिका – ६ गोलौरामा जग्गा भाडामा लिएर उनीहरुले गरेको फूल खेतीले सबैको ध्यान खिचेको छ ।

माहुरी, पुतली, भमरा मात्रै हैन पँहेलपुर सयपत्रीका फूलहरु देख्नेहरु एक छिन टक्क अडिएर ‘आहा, क्या दामी फूल’ भन्दै हिड्छन् ।

तुलसीपुर स्थित गोर्खा मोडेल कलेजका विद्यार्थीहरु मिलेर सयपत्री फूलखेती गरेका छन । विद्यार्थीहरु पढ्दै–कमाउँदै केही गर्न सकिन्छ भन्ने सोचले तुलसीपुुर–६ गोलौरामा सात कठ्ठा जग्गा भाडामा लिएर फूलखेती सुरु गरेको यहाँ फूल खेती गर्न कलेजका बिबीएस चौथो वर्षमा अध्ययनरत सुदीप केसीको अध्यक्षतामा ११ सदस्य एउटा समुह निर्माण गरिएको थियो । जस्लाई उनीहरु ‘मेरी गोल्ड कल्टिभेसन प्रोजेक्ट नाम दिएका थिए ।’

अध्यक्ष केसीले भने ‘ आज हाम्रा सपनाहरु फूलेका छन् र यसबाट हामी निकै उत्साहित छौं । तिहारको समयमा हामी बजारमा फूल तथा मालाहरु आँफै बेच्ने छौं ।’

पछिल्लो समय युवा पुस्ता प्राय सबैले रोजगारीको खोजीमा बिदेश रोज्न थालेको र आफ्नै मुलुको जग्गा जमिन बाँझैं पल्टि रहँदा कलेजका बिद्यार्थीले आँफैले मेहनत गरि सुन्दर फूलहरु फुलाएर समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएका छन् ।

यो जग्गा तीन महिनाको लागि १५ हजारमा भाडामा लिएर विद्यार्थीले साउनमा तुलसीपुर बजारबाट कर्मा ट्रिपल फाइभ जातको सयपत्रीको बिउ ल्याएर चार हजार विरुवा रोपेको बताउँछन् । यो जातको सयपत्री फूलहरु मध्ये उत्कृष्ट मानिन्छ ।

गठित समितिमा कलेजका अन्य विद्यार्थीले पनि चासो देखाउँदै जोडिएको कलेजका प्रमुख पूर्ण बिक्रम डाँगीले बताए ।

समितिमा जोडिएका प्रत्येक विद्यार्थी बाट एक हजारका दरले रकम संकलन गरि फूलखेती सुरु गरिएको उक्त प्रोजेक्टका अध्यक्षे सुदीपले बताए । फूल खेतीमा कलेजका एक सय विद्यार्थीको एक लाख बढी लगानी रहेको सुदीपले बताए ।

जमिन जोत्न ट्याक्टर प्रयोग गरेका विद्यार्थीले मिलेर पालो अनुसार अन्य सबै काम आँफै गरेका थिए ।

‘यो हाम्रो प्रयास हो र यसबाट नाफा कमाउने भन्दा पनि स्वदेशमै बसेर युवाहरुले केही गरेर देखाउछौँ भन्ने सपना बोकेर पढ्दै र कमाउँदै यो काम सुरु गरेका हौं,’ सुदीपले भने ।’

तिहारलाई लक्षित गरेर फूलहरु रोपेको भएपनि माग आएमा पूजा आजदेखि विभिन्न कार्यक्रमहरुका लागि पनि उपलब्ध गराउने योजा उनले सुनाए । तयार फूलहरु अब तिहार अघि बजार पु¥याउने तयारी बिद्यार्थीले गरेका छन् ।

विद्यार्थीले बजार मुल्य भन्दा कम मुल्यमै बिक्रि गर्ने योजना रहेको बताए । त्यसका लागि तिहार अगाडि तुलसीपुर बजारको विभिन्न ठाउँहरुमा स्टल लगाएर स्यंम विद्यार्थी फूल तथा माला बेच्ने योजना बताए ।

तिहारको लागि डेढ सय केजी फूल अडर भइ सकेको क्याम्पस प्रमुख पुर्ण बिक्रम डाँगीले बताए ।

उनले विद्यार्थीहरुलाई पढाईसगैं व्यवसायमा जोड्न लागि हौसला प्रदान गर्ने उद्देश्यले यो योजना अघि बढाएको बताए ।

कलेजका विद्यार्थीले गरेको यो कार्यले समाजमा सकारात्मक सन्देश दिएको उनको भनाई छ ।

‘विद्यार्थीले गरेको मेहनत र कलेजले गरेको व्यवस्थापनले समाजमा सकारात्मक सन्देश गएको छ,’ उनले भने । ’

विद्यार्थीहरुलाई कुनै न कुनै रुपमा पढ्दै र कमाउँदै कार्यक्रममा जोड्न सके धेरै यस्ता सकारात्मक सन्देशहरु प्रवाह हुने बताउँछन् ।

पछिल्लो केही बर्ष यता दाङमा फूल खेतीको व्यवसायिक खेती तर्फ किसान तथा युवा पुस्ता आकर्षित हुँदै गएको छ ।

जस्ले गर्दा दाङ फूल खेतीमा आत्मनिर्भर हुनुका साथै बाहिरी जिल्लाहरुमा समेत निर्यात गर्न सफल भएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *