दाङ,असोज २१ । भुलबस एसिड खाएर गम्भीर बिरामी परेका चन्द्रागिरी नगरपालिका – १ थानकोट निवासी ५१ वर्षिय दीपकराज थापालाई लमही नगरपालिकाले थप उपचारका लागि राप्ती बिज्ञान प्रतिष्ठान घोराही रेफर गरेको छ ।
एसिड खाएर अस्पतालको बेडमा छटपटाई रहेको खबर पाए लगत्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगी र वडा नम्बर ४ का वडा अध्यक्ष सुबाश न्यौपाने अस्पताल पुगेका थिए । उपप्रमुख योगी र वडा अध्यक्षको समन्वयमा उपचारका लागि थापालाई राप्ती बिज्ञान स्वास्थ्य प्रतिष्ठानमा पठाइएको हो ।
‘बाटोमा हिड्ने क्रममा बाटोको छेउमा एउटा बोतल भेटियो, उक्त बोतलमा एसिड होला भन्ने मलाई थाह भएन बिर्को खोलेर एक घुट्की खाएपछि बल्ल थाह भयो एसिड रैछ,’थापाले भने । पानी भनेर थापाले एसिड खाएका थिए, एसिड खाएर गम्भीर बनेका थापालाई इरिक्सा चालकले लमही अस्पताल पुर्याएका थिए ।’
एसिड खाएका बिरामीको उपचार लमही अस्पतालमा संभव नभएपछि उनलाई थप उपचारका लागि घोराही पठाइएको लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालले जानकारी दिए ।
थापा कवाड संकलन गर्ने काम गर्दै आएका र उनी हिज शनिबार मात्र लमही आएका थिए, उनको घरपरिवारलाई खबर गरिसकेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।