तुलसीपुर,असोज ७ । आमा–बुबाको निधनपछि छोराले मात्रै काजकिरिया गर्ने चलन नेपाली समाजमा छ । तर पछिल्लो समय समाज रुपान्तरण हुदैँ गएको छ । छोरीहरु पनि आफ्नो आमा–बुबाको निधनपछि छोरा सरह किरिया बस्न थालेका छन ।
बिहे नभएका छोरीले किरिया बसेको पाइए पनि दाङको तुलसीपुरमा भने बिहे भइ पराइ घरकी भइ सकेकी एक छोरीले आफ्नी आमाको निधन पछि १३औँ दिनसम्म काजकिरियाको कर्म पुरा गरेकी छन् ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ गुण्डले निबासि शान्ती सिग्देल (वली)ले आफ्नी आमा डोल माया सिग्देलको काजकिरिया गरेकी हुन । डोलमायाको गत भदौ २७ गते ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका २ छोराहरुको सानै उमेरमा निधन भएको थियो ।
शान्ति डोलमायाकी कान्छि छोरी हुन । उनकी दिदी हाल रोजगारीको शिलशिलामा दुबईमा छिन । घरमा आमाको काजकिरिया गर्ने कोही नभएपछि आफुले नै आमाको दागबत्ती दिएर काजकिरिया गरेको शान्तिले फरककोणलाई बताइन ।
‘आमाको निधन पछि समाजका केही अगुवाहरुले भाडामा मान्छे ल्याएर काजकिरिया गर्ने सल्लाह दिनुभएको थियो,’उनले भनिन्,–‘तर मेरो मनले त्यो कुरालाई स्वीकार्न मानेन् र म,मेरो घर परिवारको सल्लाहमा आमाको किरिया बस्ने निणर्य लिएकी हुँ।’
उनकी आमा डोलमायालाई ३ महिना अघि मात्र फोक्सोमा क्यान्सर देखिएको थियो । उनी दमको पनि रोगी थिइन । सोही रोगको उपचारको क्रममा उनको निधन भएको थियो । समाजमा छोरा र छोरी बीच हुने विभेद्को अन्त्यका लागि आफुले यो कदम चालेको शान्तिले बताइन ।
‘हामी छोरीलाई पनि छोेरा सरहको कर्म र शिक्षादिक्षा दिनु पर्छ,’ उनले अगाडि भनिन् ‘ त्यति भए छोराले गर्न सक्ने हरेक काम छोरी पनि गर्न सक्छन ।’
समाजमा छोरीले मलामी जानुहुँदैन र काजकिरिया गर्नुहुँदैन भन्ने गलत मान्यतालाई पछिल्लो पिढीले चिर्दै लैजानुपर्ने बताउँछिन ।
‘ छोरा छोरी दुबै सञ्तान हुन नि,’ उनले भनिन् ‘ उनीहरुका बीचमा अधिकार पनि बराबर हुनुपर्छ ।’
कतिपयले बिहे भइ पराइको घरमा गएकी छोरीले आमाको किरिया बस्न नमिल्ने तर्क गरेपनि आँफुले त्यस्तासंग प्रतिबाद गरेको उनले बताइन ।
शान्तिको बुबाको रोजगारीको लागि भारत गएको समयमा उतै निधन भएको थियो । त्यस यता शान्तिले नै आमाको हेरचाह गर्दै आएकी थिइन । शान्ती शान्तिनगर गाउँपालिका वडा नं.४ जुम्लेकुलास्थित सरस्वती आधारभुत प्राथमिक बिद्यालयकी शिक्षिका पनि हुन ।
शान्तिले छोरा सरह किरिया बसेर एक सञ्तानको दायित्व पुरा गरेको भन्दै नेपाली काँग्रेस शान्तिनगरका सभापति झलक केसीले यस्लाई उदाहरणिय मान्न सकिने बताए ।
यो कार्यले समाजलाई सकारात्मक रुपान्तरणको सन्देश दिएको उनले तर्क गरे । शान्ती कांग्रेस शान्तिनगर गाउँपालिका वडा नं. १ का सभापति गोपिलाल वलीकी बुहारी पनि हुन ।