घोराही, भदौ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लामो समयदेखि अलपत्र परेको घोराही तुलसीपुर सडक विस्तारका लागि डिपिआरपछि टेण्डरको काम सुरु हुने बताएकी छन । झण्डै पाँच वर्षदेखि योजना अलपत्र पारेको निर्माण कम्पनीसँगको टेण्डर तोडेर डिपिआरको काम थालिएकाले लगत्तै नयाँ टेण्डर आव्हान गरिने बताइन ।
नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणलाई सम्बोधन गर्दै उनले यो घोराही तुलसीपुर चारलेन सडक कुनै चुनावी नारा नभएर यो दाङको विकासको मेरुदण्ड भएको बताइन ।
त्यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गर्नु अर्को महत्वपूर्ण दायित्व भएकाले चालु आर्थिक वर्षको बजेटमा प्राथमिकता दिएर राखिएको पनि उनले स्पष्ट गरिन । आर्थिक अभावका कारण चालु आर्थिक वर्षमा नयाँ भवन निर्माणमा बजेट छुट्याउने नीति नभए पनि प्रतिष्ठानमा अत्यावश्यकीय सेवा क्षेत्रको रुपमा बजेट विनियोजन भएको पनि उनले स्पष्ट पारिन
मन्त्री शर्माले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताइन ।
‘नेपाल ठूलो निराशातर्फ गइरहेको थियो र केहीले त्यसका लागि योजनाबद्ध पहल पनि अघि बढाएका थिए’, मन्त्री शर्माले भने, ‘ठूलाले जे गरे पनि हुन्छ भन्ने गलत भाष्य स्थापित हुँदा निराशा बढिरहेको बेला वर्तमान सरकारले सुशासनको क्षेत्रमा थालेको ऐतिहासिक पहलका कारण जनताको विश्वास बढ्न गएको छ र संभवतः पहिलोपटक सरकार जनतासँग जोडिएको छ ।’ठ
आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार सावा दिएर लाखौं ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नहरुमाथि कारवाही थालिनु सुशासनको पक्षमा महत्वपूर्ण कदम भएको पनि उनले स्पष्ट गरिन ।
सत्ता र शक्तिमा पुगेकाहरुले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिहरुलाई पनि कानुनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माले स्पष्ट गरिन ।
प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानविन गर्न सार्वजनिक गरिरहेको उल्लेख गर्दै उनले भनिन्, छानविनका क्रममा गल्ती भेटिए मलाई समते नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन । उहाँले पार्टीभित्रका नेताहरुलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिनुभएको छ, यो चानचुुने विषय होइन ।’
उनले अन्य दलजस्तै माओवादीका केही नेता कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको स्पष्ट गरिन । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहनुभएका शर्माले भनिन्, ‘हामी केही बिग्रेकै हो तर सप्रेका अरु दलभन्दा बिग्रेका माओवादीहरु धेरै अगाडि छन्, अहिले सुरु भएको तीन महिने अभियानले बिग्रेको क्षेत्रमा पनि सुधार गर्नेछ ।’
कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरिन । अहिले सरकारले महत्वपूर्ण काम गरे पनि पार्टीमा केही सुस्तता देखिएको उल्लेख गर्दै उहाँले ऐतिहासिक राजनीतिक परिवर्तनको श्रेय लिने गरी अभियानमा लामबद्ध हुन आग्रह गरिन ।
नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उहाँले नेता कार्यकर्ताहरुलाई आग्रह गरिन ।पार्टीले विकास निर्माणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले विचारसहितको विकासलाई जोड पनि आग्रह गरिन ।
शान्तिपूर्ण बाटोबाटै समाजवादी क्रान्ति गर्ने धेयका साथ पार्टी अघि बढेकाले अब हरेक नेता कार्यकर्ताले संविधान, कानुन, बजेट निर्माण, कार्यान्वायन र मूल्यांकन प्रक्रियालाई ध्यान दिनुपर्ने बताइन ।
माओवादी केन्द्र घोराहीका अध्यक्ष रमेशकुमार ओलीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरु हेमराज शर्मा, गुणेन्द्र घर्ती, केन्द्रीय सल्लाहकार शुष्मा शर्मा घिमिरेलगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रम सञ्चालन नगर सचिव भागीदास चौधरीले गरेका थिए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका १९ वटै वडाका नेतृत्वले रिपोर्टिङ गरेका थिए ।