सल्यान, भदौ १३ । सल्यानका सामुदायिक बिद्यालयमा सञ्चालित साक्षरता कार्यक्रमको अर्धबार्षिक समिक्षा गरिएको छ ।
सन् २०१८ देखी जिल्लाका विभिन्न सामुदायिक बिद्यालयमा सञ्चालित यस कार्यक्रमको मंगलवार श्रीनगरमा अर्धबार्षिक समिक्षा गरिएको हो ।
प्रारम्भिक तहका बालबालिकाहरुको पढ्ने सिप र पढ्ने बानीको विकास गर्ने हेतुका साथ हाल जिल्लाका ६८ वटा बिद्यालयमा पालिकासँगको सहकार्यमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।
जसमा सन् २०२२ मा ४४ वटा बिद्यालय र सन् २०२३ मा २४ वटा बिद्यालयमा साक्षरता कार्यक्रम चलिरहेको छ । जसअन्र्तगत सन् २०२२ मा शारदा नगरपालिका, बागचौर नगरपालिका, दार्मा गाउँपालिका र सिद्धकुमाख गाउँपालिकाका ११/११ वटा बिद्यालयमा साक्षरता कार्यक्रम सुरु भएको हो ।
यस बर्ष सन् २०२३ मा बागचौर नगरपालिकाका ९ वटा, छत्रेश्वरी गाउँपालिका र त्रिबेणी गाउँपालिकाका ६/६ वटा तथा दार्मा गाउँपालिकाका ३ वटा बिद्यालयमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।
बिद्यार्थीहरुको सिकाइलाई जहाँ पनि जहिले पनि निरन्तरता दिने उद्धेश्यका साथ रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग, दलित विकास समाज (डिडिएस) सल्यानको व्यवस्थापन र जिल्लाका स्थानिय तहको लागत साझेदारीमा साक्षरता कार्यक्रम सञ्चालन भैरहेको छ ।
अर्धवार्षिक समिक्षा कार्यक्रमका सहभागिहरुले सामुदायिक बिद्यालयको संरचनागत सुधारसँगै शैक्षिक सुधारका लागि साक्षरता कार्यक्रम प्रभावकारी बनेको बताएका छन् ।
उनीहरुले कक्षा १, २ र ३ मा अध्ययनरत साना बिद्यार्थीहरुको व्यवहार परिवर्तन र पढ्ने वानीको बिकास गर्न साक्षरता कार्यक्रम महत्वपुर्ण भएको बताएका हुन् ।
शारदा नगरपालिका शिक्षा अधिकृत संगिता बुढाले साक्षरता कार्यक्रमलाई नगरका सबै बिद्यालयमा सञ्चालन गर्ने योजना रहेको बताए ।
नगरका ५७ वटै बिद्यालयमा बालमैत्री बसाइ व्यवस्थापन गरिएको, बुक कर्नर र पुस्तकहरुको व्यवस्था गरिसकेको उनको भनाइ छ । बागचौर नगरपालिका शिक्षा अधिकृत चित्रा बस्नेतले साक्षरता कार्यक्रमलाई सबै बिद्यालयमा विस्तार गर्नसके जिल्लाको शैक्षिकस्तरमा गुणात्मक सुधार आउने बताए ।
साक्षरता कार्यक्रमका बरिष्ठ अधिकृत बाबुराम पोख्रेलले प्रर्दशन, सहकार्य र विस्तार ढाँचाका बारेमा प्रकाश पार्दै अबका दिनमा पालिकाको प्रणालीमा एकीकृत गरेर पालिकाका सबै बिद्यालयमा कार्यक्रम बिस्तार गर्नुपर्नेमा जोड दिए ।
सिनियर कार्यक्रम सहायक तपेन्द्र वलीले बिद्यार्थीको मुल्यांकन गर्दा सारक्षता कार्यक्रम सञ्चालन भएपछि उनीहरुको क्षमतामा राम्रो विकास भएको बताए ।