दाङ,साउन २३। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङको आयोजनामा काङ्ग्रेसको आन्तरिक विशेष अभियानको आज एक औपचारिक कार्यक्रमको आयोजना गरी अभियानको शुरुवात गरेको छ ।
नेपाली काङ्ग्रेसको केन्द्रीय कमिटीको साउन २ देखि १० गते सम्पन्न केन्द्रीय कमिटीको निर्णयअनुसार साउन २० गते देखि साउन ३० गतेसम्मको अभियान अन्तर्गत प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाए बमोजिम दाङमा आएका केन्द्रीय प्रतिनिधि गोपाल दहितले अभियानको उद्घाटन गरेका छन् ।
अभियानको उद्घाटन गर्दै केन्द्रीय सदस्य दहितले जिल्लालाई अझ चलायमान बनाउन र गतिशील बनाउन तथा हरेक गुनासो तथा टिकाटप्पणीहरुको एकिन प्रतिबेदन तयार गर्न अभियानको आयोजना गरिएको बताए ।
उनले पार्टीका हरेक तहतप्कामा बसेकालाई कुनै पनि जिम्मेवारी दिइ सबैलाई सक्रिय बनाउने अभियानको पहिलो उद्देश्य रहेको बताए ।
पार्टीलाई चलायमान बनाउन केन्द्रीय कार्यसमितिको निर्देशन पर्खिरहन नपर्ने बताउँदै हरेक भातृ सङ्गठनको पूर्णताका लागि सकृय भएर लाग्न निर्देशन समेत दिए ।
जनताको सेवामा काङ्ग्रेस भन्ने उद्देश्यका साथ जनताको जनजिविकाको सवालमा हरेक सुख तथा दुखमा सहयोग र सेवाभाव बिस्तार गरी जनता सेवा दल निर्माण गर्न र पार्टीको बिस्तार तथा सङ्गठन सुदृढीकरण गर्न पार्टीको बिधान पर्खिराख्न नपर्ने समेत डा. दहितले बताए ।
अभियान उद्घाटनमा नेपाली काङ्ग्रेस दाङका जिल्ला सभापति शंकर प्रसाद डाँगीको अध्यक्षता तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. गोपाल दहितको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको सहजीकरण नेपाली काङ्ग्रेस दाङका जिल्ला सचिव अर्जुन योगीले गरेका थिए । यस्तै नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङले १० दिने अभियानको कार्यतालिका समेत सार्बजनिक गरेको छ ।