तुलसीपुर,जेठ ३० । सोमवार विश्व बालश्रम विरुद्वको दिवस दाङ सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
‘सबैका लागि सामाजिक न्याय ः बालश्रमको अन्त्य ’भन्ने मुल नाराका साथ तुलसीपुरमा पनि बालश्रम बिरुद्धको दिवस मनाइएको छ ।
कार्यक्रममा बाल अधिकारकर्मि नवराज लामिछानेले विगतको तुलनामा श्रमिक बालबालिकाहरुको संख्या घटदो क्रममा रहेको बताए ।
उनले तुलसीपुरमा कुल जनसंख्या १ लाख ६९ हजार ७ सय ५५ मा करिब ३५ प्रतिशत बालबालिकाहरु रहेको बताए ।
त्यसमध्ये आमाबुबासगैं बस्ने ७१.८ प्रतिशत,आमासगं मात्र बस्ने २२.६ प्रतिशत,बुबासगं मात्र बस्ने १.०९ प्रतिशत,बुबा र अर्की आमासगं ०.४ प्रतिशत,आमा र अर्को बुबासगं बस्ने ०.१ प्रतिशत,अन्य आफन्तसगं बस्ने ३.५ प्रतिशत र रोगजारदातासगं बस्ने ०.०१ प्रतिशत रहेको लामिछानेले बताए ।
उनले तुलसीपुरमा बालश्रमीकको संख्या घटेको बताए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिकाले युनिसेफको सहयोग र नवजागरण महिला तथा बाल संरक्षण केन्द्रको साझेदारीमा सञ्चालन गरेका बाल संरक्षण कार्यक्रम अनुसार सन २०११ को तथ्याङमा २ सय ४९ जना बालश्रमिकहरु रहेको र ति बालश्रमिकहरुलाई पारिवारिक तथा सामाजिक पुनःस्थापना लगाएत विभिन्न सहयोग उपलब्ध गराइएको थियो ।
त्यस्तै हाल सोही कार्यक्रम अनुसार २०१८ को तथ्याङकमा जम्मा ३७ जना बालश्रमिकहरु भेटिएकोमा विभिन्न सरोकारवालाहरुको सक्रियतामा पारिवारिक तथा सामाजिक पुर्नःस्थापना गरिएको उनले बताए ।
त्यस्तै अहिले तुलसीपुरमा बालश्रमको अवस्था हेर्दा तुलसीपुर उपमहानगरपालिका युनिुसेफ नेपाल,विभिन्न वडा कार्यालय र अन्य सरोकारवालाहरुको सहयोगममा तुलसीपुर उपमहानगरपालिका भित्रका वडा नं. ६,२,१,१८ र १६ गरि ५ वटा वडाहरु बालश्रम मुक्त घोषणा भैसकेका छन ।
अब तुलसीपुर उपमहानगरपालिका बालमैत्री नगर उम्मुख रहेको बताइएको छ । हालसम्म देशभर ६ वटा स्थानीय तहमा मात्र बालमैत्री घोषणा भएको छ ।
तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा,त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालि तुलसीपुर,नबजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यु सिपीसी)को संयुक्त आयोजना भएको कार्यक्रममा बोल्ने बक्ताहरुले स्थानीय सरकार आएसंगै श्रममा लाग्ने बालबालिकाको पहिचान गर्न सहज भएको बताएका छन ।
उनीहरुले वडा कार्यालयको सहयोग मार्फत भेटिने श्रमिक बालबालिकाको पहिचान गरि घर–परिवारमा पुनःस्थापन गर्ने वा विभिन्न संघ–संस्थाको सहकार्यमा संरक्षण गर्ने गरेका कारण पनि अहिले होटेल,यातायात, इट्टाभट्टा लगाएतका क्षेत्रमा बालबालिकाको प्रयोग निकै कम भएको बताए ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अनाथ तथा बेसाहार बालबालिकाहरुको सुनौलो भविष्यको लागि राज्यले अभिभावकत्व बहन गर्न सके जो कुनै बालबालिका श्रमममा लाग्न बाध्य नहुने बताइन ।
उनले प्रत्येक्ष नभई अप्रत्यक्ष रुपमा आफुले पनि बालबालिकाहरु श्रममा छन कि छैन भनि समय–समयमा अनुगमन गर्ने गरेको बताइन ।
साथै उनले बालबालिकाको सवालमा स्थानीय सरकारसगै आम सरोकारवालाहरु पनि उत्तीकै गम्भिर हुनुपर्नेमा जोड दिइन ।
त्यस्तै त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालिका अध्यक्ष सुरेश हमालले यातयात क्षेत्रमा बालश्रमिकहरु नभएको दावी गरे । उनले यदि कहिकतै बालश्रमिक भेटिएमा तुरुन्त खबर गर्न आग्रह गरे ।
उक्त कार्यक्रमको सहजीकरण नबजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यु सिपीसी) का महासचिव नानीमैया वलिले गरेकी थिइन ।
