तुलसीपुर, जेठ १२ । तुलसीपुरको मेट्रो कलेजमा शुक्रबार अपराध अनुसन्धान बारे प्रदर्शनी गरिएको छ ।
कलेजको बिएएलएलबी अध्ययनरत विद्यार्थीले प्रदर्शनी गरेका हुन । अपराधपछि त्यसको कसरी अनुसन्धान गर्नुपर्दछ भन्ने बारे उनीहरुको पर्दशनी केन्द्रित रहेको थियो ।
कार्यक्रमका योजनाकार अध्यापक कोशिस गिरीले प्रविधिको विकाससँगै अपराध नयाँ नयाँ तरिकाबाट हुने गरेको भन्दै अनुसन्धानका क्रममा साना भन्दा साना कुरामा पनि ध्यान दिन आवश्यक रहेको बताएका थिए । अपराध भएको ठाउँमा प्रमाणहरु कसरी संकलन गर्ने, कसरी नष्ट हुनबाट रोक्ने र अपराध भएको ठाउँको संरक्षण कसरी गर्ने भन्ने बारे जानकारी दिन नमुना प्रदर्शनी गरिएको उनले बताएका थिए ।
अपराध अनुसन्धानका क्रममा हुने साना त्रुटीले पनि दोषि उम्कने र निर्दोषले सजाय पाउने सम्भावना रहने हुँदा त्यसलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बिद्यार्थीले गरेको पर्दशन निकै प्रभावकारी लागेको दाङका प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले बताएका थिए ।
‘अपराध अनुसन्धानलाई कसरी वैज्ञानिक र तथ्यपरक बनाउन सकिन्छ भन्ने सम्बन्धित बिद्यार्थीको प्रस्तुती प्रभावकारी लाग्यो,’ एसपी वलीले भने ‘अनुसन्धान निकै जटिल काम रहेपनि प्रहरीले त्यसलाई अत्यन्त सजगताका साथ गर्न जरुरी हुन्छ ।’
अपराधी पहिचानका लागि घटनास्थल महत्वपूर्ण हुने भन्दै उनले घटनास्थलको सुरक्षा महत्वपूर्ण हुने बताए ।
पछिल्लो समय अपराधमा युवाहरुको संलग्नता बढ्दै गएको भन्दै उनले कतिपय थाहै नपाएर अपराधका जोडिने गरेको हुँदा कानुनी कुराहरु जानकारी हुँदा जोगिन सकिने सल्लाह दिएका थिए ।
‘हामीले लहलहैमा लागेर कहिल्यै पनि गलत काम गर्ने सोच राख्नु हुँदैन,’ उनले भनेका थिए ‘कुनै पनि काम गर्दा सोच बिचार गरि मात्रै गर्नुपर्ने हुन्छ।’
तुलसीपुर उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख मानबहादुर रावतले विद्यार्थीले सिकेको कुरालाई ब्यवहारमा लागु गर्दा सीपको विकास हुने बताएका थिए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्व वरिष्ठ उपाध्यक्ष सुशिल बस्नेत, व्यवसायी बिमल रिजाल, टोपबहादुर घर्ती, कलेज प्रमुख वसन्त आचार्य लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम संयोजक गोपाल उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण विद्यार्थी प्रकाश वलीले गरेका थिए ।