दाङ, जेठ १० । नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाले एकै साथ ४२ जना पत्रकारलाई हटाउने निर्णय गरेको छ ।
सुद्धिकरण अभियान अन्तरगन रुकुम शाखाले एकै साथ ४२ जना साधारण सदस्यहरुको सदस्यता नविकरण नगर्ने र अबदेखि उनीहरुलाई पत्रकार नमान्ने निर्णय पारित गरेको हो ।
मंगलबार मुसिकोटमा बसेको शाखाको १० औँ पूर्ण बैठकले ४२ जना साधारण सदस्यहरुको सदस्यता नविकरण नगर्न पत्रकार महासंघको कर्णाली प्रदेश र केन्द्रीय कार्य समितिलाई सिफारिस गर्ने निर्णय पारित गरेको शाखा अध्यक्ष लक्ष्मण केसीले जानकारी दिए ।
सक्रिय राजनीतिमा रहेका, स्थायी सरकारी सेवामा रहेका, पत्रकारितामा लामो समयदेखि क्रियाशिल नरहेका सदस्यहरु हटाउने निर्णय भएको अध्यक्ष केसीले जानकारी दिए ।
रुकुम पश्चिममा कुल एक सय तीन जना साधारण सदस्यहरु मध्यबाट पछिल्लो समय पत्रकारितामा क्रियाशिल नरहेका ४२ जना साधारण सदस्यहरुको सदस्यता नविकरण नगर्ने निर्णय गरेको अध्यक्ष केसीले बताए ।
नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण अभियान अन्तर्गत केन्द्रीय कार्यालयको परिपत्र अनुसार रुकुम पश्चिम शाखाबाट सदस्यता नविकरण सिफारिसका लागि शाखाका उपाध्यक्ष गोपाल प्रसाद रेग्मीको सयोजकत्वमा सचिव हिरा परियार र सदस्य संगम देवकोटा सदस्य रहने गरि सदस्यता नविकरण समिति गठन गरिएको थियो ।
उक्त समितिले तयार पारेको प्रतिवेदनको आधारमा छलफल गरि पत्रकारितामा सक्रिय नरहेका सदस्यहरुको साधारण सदस्यता नविकरण नगर्नका लागि सिफारिस गर्ने निर्णय भएको शाखाका सचिव हिरा परियारले जानकारी दिए । केन्द्रले तयार पारेको मापदण्डको आधारमा जिल्लामा शुद्धिकरण अभियान थालिएको हो ।
पेशागत संघ सगठनका प्रमुख, संस्थापक, सल्लाहकार, महासंघका केन्द्रीय र प्रदेश परिषद सदस्य, पूर्व पदाधिकारी र जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थितिमा उक्त निर्णय गरिएको शाखाका सचिव हिरा परियारले जानकारी दिए ।

