२०८३ असार ३० गते मङ्गलवार

खजुरा गाउँपालिकालाई फुसको छानारहित पालिका बनाउने अभियान सुरु

बाँके,वैशाख ८ । बाँकेको खजुरा गाउँपालिका भित्रका सबै फुसको घरमा जस्तापाता लगाएर पालिकालाई फुसको छानारहित बनाउने अभियान सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

सो अभियानअन्तर्गत चालु आर्थिक वर्षमा १५७ घरधुरीमा फुसको छाना हटाएर टिनको छाना लगाउन सहयोग गर्ने खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए ।

उनले केही समय अघि सूचना प्रकाशित गरेर टिनको छाना लगाउन चाहनेलाई आवेदन दिन आग्रह गरिएकोमा १५७ परिवारले फुसको छाना हटाउन आवेदन दिएको बताए। आवेदन दिएका परिवारलाई टिनको छाना लगाउनका लागि गाउँपालिकामा आएर सम्झौता गर्न जानकारी गराइएको पनि प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

चालु आर्थिक वर्षमा खजुराले फुसको छाना हटाई टिनको छाना लगाउन ८० लाख रुपियाँको बजेट छुट्टाएको गाउँपालिकाले जनाएको छ । अभियानअन्तर्गत पहिलो चरणमा १५७ वटा घरमा टिनको छाना लगाउने गरी सहयोग गर्न लागिएको गाउँपालिकाका अध्यक्ष डम्बर विकले बताए ।

उनले वडा नम्बर १ बाट ५० परिवारको निवेदन आएकोमा सबैभन्दा पहिले सोही वडाका १६ परिवारलाई सम्झौताका लागि बोलाइएको बताए।

सोही प्रकारले वडा नम्बर २ बाट ११० वटा आवेदन परेकोमा २४ जनालाई, वडा नम्बर ३ बाट ६१ वटा आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर ४ बाट ७२ जनाको आवेदन परेकोमा १८ जनालाई, वडा नम्बर ५ बाट ८३ जनाको आवेदन परेकोमा २० जनालाई, वडा नम्बर ६ बाट १५८ जनाको आवेदन परेकोमा २९ जनालाई, वडा नम्बर ७ बाट ६५ जनाको आवेदन परेकोमा १८ जनालाई, १८ गते र वडा नम्बर ८ बाट २४ जनाको आवेदन परेकोमा १३ जनालाई सम्झौताको लागि पालिकामा बोलाइएको गाउँपालिकाले जनाएको छ ।

पालिका भित्र रहेका सबै घरलाई फुसको छानामुक्त बनाउने लक्ष्यसहित कार्य सुरु गरेको जानकारी दिदै खजुरा गाउँपालिकाका अध्यक्ष विकले यस पटक पालो नपाएकालाई अर्को वर्ष प्राथमिकतामा राखिने बताए ।

उनले केही समय भित्रै पालिका भित्रका सबै घर फुसको छानामुक्त हुने बताए।

प्रकाशित मिति : २०८० बैशाख ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *