तुलसीपुर, चैत १२ ।
तुलसीपुर उपमहानगरपालिकाले निर्माण गरेको आधुनिक बसपार्क बैशाख अन्तिमबाट पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । नगर विकास कोषको ऋण सहयोगमा करिब ९ करोडमा निर्माण गरिएको बसपार्कको सम्पूर्ण पूर्वाधार तयार भएर सञ्चालनमा आउन लागेको निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सनका विजय वोगटीले जानकारी दिए ।
उनले भवनको रङ लगाउने र मार्वल बिछ्याउने काम बाँकी रहेकाले तिव्रताका साथमा काम भइरहेको वताए । २०७४ बैशाखमा ठेक्का भएको बसपार्क निर्माणका लागि जग्गाको विवाद भएपछि निर्माण अवरुद्ध भएको थियो । जनप्रतिनिधिहरु आएपछि समस्या समाधानसँगै निर्माणको काम निकै तिव्र रुपमा अगाडि बढेको इन्जिनियर पवन योगीले जानकारी दिए ।
नगरप्रमुख घनश्याम पाण्डेले चुनावी एजेण्डाका रुपमा लिएको बसपार्क निर्माणमा आफु सफल भएको वताए । ‘तुलसीपुर विस्तारै व्यवस्थित हँुदै जानेछ’ नगरप्रमुख पाण्डेले बताए । निरिक्षणका क्रममा उनले ठेकेदारलाई निर्माणमा ढिलाइ नगर्न आग्रह गरे । तुुलसीपुरलाई व्यवस्थित वनाउनका लागि निर्माण गरिएको वसपार्क साढे ५ विगाह क्षेत्रफलमा फैलिएको छ ।
बसपार्कमा करिव ३ सय गाडी अटाउने क्षमता रहेको पनि इन्जिनियर योगीले जानकारी दिए । आधुनिक यात्रु प्रतिक्षालयसँगै, भवन, शौचालय, पार्क र सडक निर्माण गरिएको उनले जानकारी दिए । वसपार्कभित्र ५२ वटा व्यवसायिक टहराका साथै टिकट काउन्टर, प्रशासनिक भवन, रेष्टुरेन्टलगायतका रहने बताइएको छ ।
बसपार्कमा स्तनपान कक्षका साथै सेन्सरयुक्त ढोकासमेत राखिने छ । आवश्यक क्षेत्रफल बढाउनका लािग उपमहानगरपालिकाले नमुना अटोभिलेजसमेत निर्माण गरेको छ । निर्माणको लागि असारसम्म म्याद भएपनि बैशाख अन्तिम साता निर्माण सम्पन्न गरेर हन्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ ।
आधुनिक वसपार्क सञ्चालन हुने कुराले यातायात व्यवसायीहरुमा उत्साह पलाएको छ । ‘हाम्रा गाडी अब सुरक्षित हुने भए’ राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समितिका अध्यक्ष सुरेश हमालले बताए । उनले गाडी जथाभावी राख्नुपर्ने वाध्यताको अन्त्य हुने बताए ।