दाङ, चैत ५ ।
तुलसीपुरको बसपार्क आधुनिक बनाउने कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । २०५२ सालतिर तुलसीपुर बजारबाट पातुखोलाको बगरमा बसपार्क सारिएको थियो । तत्कालिन मेयर शंकरप्रशाद आचार्यले बसपार्क बजारबाट खोलामा सारेका थिए । तुलसीपुर उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले आगामी जेठ मसान्तसम्म बसपार्कको टर्मिनल भवन निर्माण गर्ने अन्तिम समय सीमा निर्धारण गरिएको फरक कोणलाई जानकारी दिए ।
बसपार्क गुरुयोजना अनुरुप आधुनिक बनाउन ३ करोड १६ लाख ९८ हजारमा टर्मिनल भवन निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । यो टर्मिनल भवनभित्र टिकट काउन्टर, रेष्टुरेन्ट, प्रशासनिक भवन, हेल्प डेक्स र बीचमा बगैचा निर्माण गरिने इञ्जिनियर योगीले बताए । स्थानीय सरकार आउनुभन्दा केही समय पहिले तत्कालिन कार्यकारी अधिकृत टोपेन्द्र केसीले आधुनिक बसपार्क निर्माण कार्यको शिलान्यास गरेका थिए ।
गत बैशाख ५ गते उपमहानगरपालिकाले गुरुयोजना अनुसार बसपार्क निर्माणको कार्य थालनी गर्न कार्यादेश दिएको थियो । टर्मिनल भवन निर्माण पछि यहाँ सार्वजनिक शौचालय निर्माण, वरिपरि सडक र त्यसमा सडक बत्ती निर्माण गरिने भएको छ । पुराना टिकट काउन्टर भत्काएर त्यसको अगाडि व्यापारिक सटर निर्माण कार्य पूरा भइसकेको छ ।
२ करोड ४४ लाख २२ हजारमा २२ वटा सटर रहेको सपिङ स्टल निर्माण कार्य पूरा भइसकेको छ । ती सटरहरुले उपमहानगरपालिकाले व्यापारिक प्रयोजनका लागि टेन्डर आह्वान गरी भाडामा लगाउने तयारी गरिरहेको छ । तुलसीपुर उपमहानगपालिकाका इञ्जिनियर योगीका अनुसार गुरुयोजना अनुसार पहिलो चरणमा निर्माण गर्न थालिएको टर्मिनल भवन र सपिङ स्टल कुल भ्याटबाहेक ९ करोड ९ लाख ९० हजार ९ सय ५८ रुपैयाँ ५३ पैसामा निर्माण भइरहेका हुन् ।
काम सुरु भएको मितिले १५ महिनाभित्र काम सम्पन्न गर्ने गरी पहिलो चरणको निर्माणको जिम्मा शिव शक्ति निर्माण सेवा काठमाडौँले लिएको छ । उसले काम केही ढिला गरी पूरा गर्न लागेको छ । निर्माण कम्पनीका इञ्जिनियर विजय बोगटीले नयाँ वर्षको जेठ मसान्त अगाडि नै टर्मिनल भवन निर्माणको काम पूरा हुने बताए ।
बहुबर्षिय योजनाअन्तर्गत २०७० सालको गुरुयोजना अनुरुप तुलसीपुर बसपार्कलाई आधुनिक स्वरुपको निर्माण गर्न झन्डै ३४ करोडको स्टिमेट गरिएको नगरका इञ्जिनियर योगीले बताए । हाल पहिलो चरणअन्तर्गतका संरचना निर्माण भइरहेको भए पनि गुरुयोजना अनुरुप सबै संरचना निर्माण गर्न भने अझै केही वर्ष लाग्ने योगीले जानकारी दिए ।