२०८१ फाल्गुन ७ गते बुधवार

पर्यटकीय गन्तव्य लमहीको जखेरा ताल


यमकला भुसाल,
दाङ, चैत ५ ।
दाङको लमही नगरपालिका वडा नम्बर ३ मा अवस्थित प्राकृतिक जखेरा ताल जिल्लाको एउटा प्रमुख पर्यटकीय स्थलको रुपमा विकास भइरहेको छ । यो ताल प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । विगत ६÷७ बर्षदेखि यहाँ आउने पर्यटकका लागि डुंगा पनि सञ्चालन गरिदै आइएको छ ।

पछिल्लो समय डुंगामा चढ्नेहरुको सुरक्षाको लागि ज्याकेटको पनि व्यवस्था गरिएको छ । स्थानीयका अनुसार जखेरा तालमा दाङसहित आसपासका जिल्लाहरु अर्घाखाँची, प्यूठान, रोल्पा, सल्यान, रुकुम, बर्दिया, बाँके, सुर्खेतलगायतबाट आन्तरिक पर्यटकहरु आउने गर्दछन् । २०५५ सालमा स्थानीयले पानी जम्मा गरेर खेतबारीमा सिंचाई गर्न तालको उपयोग गर्दथे ।

जखेरा सामुदायिक वन क्षेत्रभित्र समेत गरी ७.८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तालमा दुईवटा गणेश मन्दिर र शिव मन्दिर निर्माण गरिएका छन् भने वन क्षेत्रभित्र थप दुईवटा मन्दिर निर्माण गरिएको छ । जखेरा ताल मुख्यगरी पिकनिक स्पटको लागि प्रख्यात छ । यहाँ वनभोज, वर्थडे र विवाह पार्टीका लागि समेत मानिसहरु आउने गर्दछन् ।

जखेरा तालमा मुख्यगरी माघे संक्रान्ति र शिवरात्रीमा ठूलो मेला लाग्ने गर्छ । तालमा दशंै–तिहारको समयमा सबैभन्दा धेरै पर्यटक आउने गरेको जखेरा शिवालय धार्मिक पर्यटन विकास संरक्षण प्रतिष्ठानका कार्यबाहक अध्यक्ष रविधोज थापाले जानकारी दिए । सिजनमा दैनिक एक सयदेखि ५ सयसम्म पर्यटकहरु आउने गरेको थापाले बताए ।

पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको भए पनि त्यो अनुरुप ताल क्षेत्रमा पर्यटकीय विकास गर्न जरुरी रहेको अध्यक्ष थापाले बताए । ‘आठ वर्ष जति भयो, तालमा दुईवटा मात्रै डुंगा छन्’’ अध्यक्ष थापाले भने ‘अझैं थप २÷३ वटा डुंगाहरु आवश्यक छ ।’ त्यस्तै तालको नियमित सरसफाई गर्दै आधुनिक डुंगाको संख्या बढाउन सके जखेरा ताल विदेशी पर्यटकहरु समेत भित्र्याउन सकिने थापाको विश्वास छ ।

तालको संरक्षण र यसको विकासको लागि गुरुयोजनाका साथ काम गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह, लमही नगरपालिकाले तालको विकासका लागि गुरुयोजना अघि सारेको थापाले जानकारी दिए । पर्यटकका लागि शौचालय निर्माण, तालको क्षेत्रफल बढाउने र पार्किङको व्यवस्था गर्नेजस्ता लक्ष्य रहेको थापाले बताए । थापाले उक्त क्षेत्रलाई होमस्टेका रुपमा विकास गर्ने योजना रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : २०७५ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *