दाङ,माघ ३ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन्।
माघ ५ गते प्रदेश सभाको चौथो बैठक बस्ने छ। उक्त बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।
मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र २ स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थन छ।
८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ। सत्तापक्षको स्पष्ट बहुमत छ। प्रदेशमा कांग्रेसका २७ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ सदस्य छन्।
विश्वासको मत लिएपछि मात्रै लुम्बिनी प्रदेशमा सरकार विस्तार हुने भएको छ। अहिले दुई विना विभागीय मन्त्री छन्।
पहिलो मन्त्रिपरिषद् बैठकबाट एउटा मन्त्रालय घटाउँदै १२ मन्त्रालय बनाउने निर्णय भएको थियो। फेरि दुई वटा मन्त्रालय घटाएर १० मन्त्रालय बनाउने तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ।