२०८१ बैशाख ११ गते मङ्गलवार

लुम्बिनीमा आज सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता हुँदै

दाङ,माघ २ । लुम्बिनी प्रदेशमा सभामुख र उपसभामुख चयनका लागि आज (सोमबार) उम्मेदवारी मनोनयन दर्ता हुँदै छ ।

प्रदेशसभा सचिवालयले जारी गरेको सूचनाअनुसार सोमबार दिउँसो १ बजेदेखि ५ बजेसम्म दुवै पदमा निर्वाचन गर्नका लागि उम्मेदवारको नाम प्रस्ताव हुनेछ ।

दर्ता भएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन साढे ५ बजे हुने बताइको छ ।

मंगलबार १ बजे बस्ने प्रदेशसभा बैठकमा पहिला सभामुखको उम्मेदवारी प्रस्ताव भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यसूची तय भएको छ ।

सभामुख निर्वाचित भएपछि उपसभामुखको निर्वाचन हुने प्रक्रिया सुरु हुने प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालले बताए । सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने कानुनी व्यवस्था छ ।

लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनको भागबन्डाअनुसार एमालेले मुख्यमन्त्री पाएपछि सभामुख माओवादीको भागमा परेको छ ।

माओवादीले पाल्पाको २ (२)बाट निर्वाचित तुलाराम घर्ती मगरलाई सभामुख बनाउने तयारी गरेको छ । कांग्रेसलाई पनि घर्तीलाई समर्थन गर्न माओवादीले आग्रह गरेको छ ।

कांग्रेस संसदीय दलको आइतबार बुटवलमा बसेको बैठकले आफ्नो उम्मेदवार तय नगरी माओवादीसँग छलफल गर्ने निर्णय गरेको छ ।

उक्त छलफलपछि घर्ती निर्विरोध निर्वाचित हुने सम्भावना रहेको माओवादी प्रदेश अध्यक्ष सुदर्शन बसालले दाबी गरे । उपसभामुख भने राप्रपाले पाएको छ ।

राप्रपाले गुल्मीकी मेनुका खाँड केसीलाई उपसभामुख बनाउने सम्भावना छ । सोमबार नै शपथ लिन लागेकी बाँकेकी मिनाकुमारी श्रेष्ठले पनि दाबी गरिरहेकी छन् ।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य छन् । शपथ ग्रहण बाँकी रहेकी राप्रपाबाट निर्वाचित बाँकेकी श्रेष्ठको सोमबार ११ बजे नै बुटवलस्थित प्रदेश प्रमुख अमिक शेरचनको कार्यालयमा शपथ ग्रहणको तयारी भइरहेको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले बताए ।

उनको शपथ ग्रहणसँगै सभामुख र उपसभामुख चयनको प्रक्रिया पनि अघि बढ्ने उनले जानकारी दिए । प्रदेशसभामा कांग्रेसका २७ सदस्य छन् ।

सत्ता गठबन्धनमा ७ दलसहित २ स्वतन्त्र गरी ५८ जना छन् । १/१ प्रदेशसभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले पनि सरकारलाई समर्थन गरेका छैनन् ।

 

प्रकाशित मिति : २०७९ माघ २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *