दाङ, २ चैत्र ।
सरकारले २०७६ सालमा १५ दिन सार्वजनिक बिदा दिएको छ । शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरी गृह मन्त्रालयले देशैभरी बिदा हुने गरी जम्मा १५ दिनमात्र सार्वजनिक बिदा दिएको हो । बैशाख महिनामा सरकारले नयाँ वर्षका दिन बैशाख १ गते आइतबार र विश्व मजदुर दिवसका दिन बैशाख १८ गते बुधबार देशभर सार्वजनिक बिदा दिइएको छ ।
जेठ महिनामा एक दिनमात्र ४ गते शनिबार सार्वजनिक बिदा दिइएको छ । असार, साउन र भदौ महिनामा एक दिन पनि देशभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको छैन । असोज ३ गते शुक्रबार संविधान दिवसको दिन सार्वजनिक बिदा दिइएको छ । असोज १८ गते शनिबारदेखि २२ बुधबारसम्म अर्थात फूलपातीदेखि एकादशीसम्म ५ दिन सार्वजनिक बिदा दिइएको छ ।
कात्तिक महिनामा तिहारका तीन दिन बिदा परेको छ । कात्तिक १० गते आइतबारदेखि १२ गते मंगलबारसम्म अर्थात लक्ष्मीपूजादेखि भाइटीकासम्म ३ दिन बिदा दिइएको छ । मंसिर, पुस र माघ महिनामा देशभर लागू हुने गरी बिदा दिइएको छैन । फागुन महिनामा ९ गते शुक्रबार महाशिवरात्रीमा र फागुन २५ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवसमा सार्वजनिक बिदा दिइएको छ ।
त्यस्तै फागू पूर्णिमाका दिन फागुन २६ गते सोमबार पहाड र भित्री मधेसका ५८ जिल्लामा र बाँकी जिल्लामा फागुन २७ गते मंगलबार सार्वजनिक बिदा दिइएको छ । महिला कर्मचारीहरुलाई भदौ १६ गते सोमबार तीजका दिन सार्वजनिक बिदा दिइएको छ । त्यस्तै अपांगता भएका कर्मचारीलाई मंसिर १७ गते मंगलबार अन्तर्राष्ट्रिय अपांगता दिवसमा बिदा दिइएको छ ।
शिक्षण संस्थाहरुमा माघ १६ गते बिहीबार श्रीपञ्चमीको दिन पनि बिदा दिइएको छ । सरकारले धर्म, संस्कृति, भौगोलिक क्षेत्र, स्थान विशेषका लागि पनि सार्वजनिक बिदा दिएको छ ।