२०८१ बैशाख १३ गते बिहिवार

लुम्बिनीका मुख्यमन्त्रीले सार्वजनिक गरे पाँच वर्षे उपलब्धी

दाङ,पुस २७ । बिदा भएर जाँदै गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशवासीको नाममा सम्बोधन गरेका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय राप्ती उपत्यका देउखुरीमा पत्रकार सम्मेलन गर्दै उनले प्रदेशवासीको नाममा सम्बोधन गरेका हुन्। केसीले पाँच वर्षे उपलब्धीसमेत सार्वजनिक गरेका छन्। उनले प्रदेश राजधानी घोषणा र व्यवस्थापनलाई पहिलो उपलब्धी मानेका छन्।

 

२०७७ असोज २० गते प्रदेशसभाको दुई तिहाइ बहुमतले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो। सो निर्णय दुई वर्षपछि गत मंसिर २८ मा कार्यान्वयन गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भयो।

प्रदेश राजधानी सहर व्यवस्थापनका लागि गुरु योजना निर्माण गरेर कार्यान्वयन गरिएको छ।

योजनाबद्द विकास, चार वटा प्रदेश सरकारको गौरवका आयोजनाको रूपमा अघि बढाइएको, कानुन निर्माण, संगठन संरचना र जनशक्ति व्यवस्थापनको विषयलाई मुख्य उपलब्धी मानिएको छ।

केसीले एक वर्ष ५ महिना मुख्यमन्त्री भएर बिताए। यो अवधिमा प्रदेशको जग बसाल्न सफल भएको दावी गर्दै प्रदेश गौरवका आयोजना नयाँ सरकारले निरन्तरता दिनुपर्ने धारणा राखेका छन्।

पहिलोपटक प्रदेशलाई स्थापना गर्ने, कानुन निर्माण गर्ने, प्रादेशिक संरचना स्थापना गर्नेदेखि प्रदेशको नामाकरण, स्थायी मुकाम निर्धारण, जनतामा सेवा प्रवाह पुर्‍याउने, विकासका आधारशीला खडा गर्ने, रणनीति योजना र गुरुयोजनाहरू, प्रदेशको लक्ष्य स्थापित गर्नेजस्ता चीरस्मरणीय अप्ठ्याराका ५ वर्षहरू संघीयता व्यवस्थापनका कडीहरू हाम्रा ऐतिहासिक अनुभूतिहरू रहेको सम्बोधनमा उल्लेख गरेका छन्।

 

उनले आफ्नो कार्यकाल सफल बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापनसमेत गरे। ‘पहिलो कार्यकालको दोस्रो मुख्यमन्त्रीको हैसियतमा १ वर्ष ५ महिना पूरा गरेको सन्दर्भमा मेरो कदममा साथ दिने, माया गर्ने, आशा, विश्वास र भरोसा राख्ने अपार स्‍नेही समुदायलाई सम्झना गर्ने कर्तव्य पूरा गर्दछु’, केसीले सम्बोधनमा भनेका छन्।

 

प्रकाशित मिति : २०७९ पुष २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *