दाङ,फागुन २४ । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नं. ९ सुन्दरी डाँडा गाउँस्थित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ को गाउँवाट प्रहरीले अत्याधुनिक हतियार बरामद गरेको छ । प्रहरीले बिहीबार बिहान विप्लवको गाउँमा सर्च अपरेसन चलाएको थियो ।
पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक पिताम्बर अधिकारीले त्यस क्रममा आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद भएको जानकारी दिए ।
प्रहरीले विप्लवको गाउँमा अपरेसन गर्ने क्रममा शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरेको जानकारी दिएको छ । रोकालाई पक्रन खोज्दा भोग्न खोजेपछि नियन्त्रण लिन प्रहरीले गोली चलाउनु परेको प्रहरीले जानकारी दिएको छ । रोकाको बायाँ खुट्टामा गोली लागेको र उनको बुटवलमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
रोकाको घरबाट एसएमजी दुई थान, गोली ६८ राउण्ड, म्यागजीन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउण्ड, ५.५६ क्यालिभरको राउण्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद भएको ५ नं. प्रदेश प्रहरी प्रवक्ता टिकाबहादुर कार्कीले जानकारी दिएका छन् । प्रहरीले बरामद भएका हतियार युद्धकाका क्रममा नेपाली सेनावाट लुटेको हुन सक्ने अनुमान गरेको छ ।
विप्लव कहिले कपिलबस्तु बसाई सरे ?
रोल्पाको साबिक इरिवाङ गाविसमा २०२४ साल फागुन ११ गते नेत्रविक्रम चन्द (विप्लव)को जन्म भएको थियो। लाहुरे परिवारका चन्द २०४६ सालमा बिहे गरी कपिलवस्तु बसाई सरेका हुन । कपिलबस्तुमा विप्लवको पुर्ख्यौली जमिन पलिलेदेखि नै थियो। यहाँ आएपछि मात्रै विप्लव अध्यनका लागि काठमाडौंको नेपाल ल क्याम्पस गएका थिए । उनले अध्यनकै समयमा २०४८ सालमा राजनीतिमा प्रवेश गरेका थिए। २०५२ सालमा माओवादीले थालेको सशस्त्र युद्धमा सुरूदेखि नै उनी त्यसमा लागेका थिए । कपिलबस्तु स्थित घरमा विप्लव आफुभने हाल बसिरहेका छैनन् । उनका आफन्त त्यो घरमा बस्दै आएका छन् । हाल विप्लवको परिवार राजधानी बस्दै आएको छ । विप्लव भने भूमिगत छन् ।