काठमाडौँ ,मंसिर ५ । मतदान सकिएको १२ घण्टाभन्दा बढी समय भइसक्दा पनि देशभरका अधिकांश स्थानमा मतगणना अझैसम्म सुरु भएको छैन ।
निर्वाचन आयोगले चार वटै मतपत्र एकैपटक गणना गर्न निर्देशन दिएसँगै मतगणना कार्यमा ढिलाइ भएको हो ।
यसअघिका निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको निर्वाचन सकेर मात्र समानुपातिक र प्रदेश सभाको पनि प्रत्यक्ष तर्फको मतगणना सकेर मात्र समानुपातिक मतगणना गरिन्थो ।
यसपाली भने आयोगले प्रदेश तथा प्रतिनिधि दुवै सभाको प्रत्यक्ष र समानुपातिक गरी चारै मतपत्र एकैपटक मतगणना गर्न निर्देशन दिएको थियो।
देशका केही स्थानमा मात्र मतगणना कार्य सुरु भएको छ । देशका धेरैँ स्थानमा मतगणना सुरु त भएन नै सर्वदलीय बैठक समेत बस्न सकेको छैन ।
समयमै मतगणना हुन नसक्दा आफूले पाउनुपर्ने जानकारी समयमै पाउन नसकेको उम्मेदवारहरूको गुनासो छ ।
काठमाडौँ क्षेत्र नम्बर– २ का स्वतन्त्र उम्मेदवार प्रकाश अधिकारीले आफू मतगणना गर्न अधिकृतको कार्यालयमा समयमै पुगेपनि चारै तहको मत गणना एकैपटक गर्नुपर्ने भएका कारण मतगणना स्थल व्यस्थापन हुन नसक्दा मत गणना कार्यमा ढिलाइ भएको बताएका छन् ।
चारै तहको निर्वाचनका लागि मत गणना स्थल थप्नुपर्ने निर्वाचन अधिकृतहरूको भनाइ छ । तर, पुरानै मतगणना स्थाल र उस्तै व्यवस्थापनका कारण मत गणानामा ढिलाइ भएको हो ।
आज बिहानैबाट मतगणना सुरु गरिने भनिएका देशका अधिकांश स्थानमा अझै मतगणना सुरु भएको छैन ।
हालसम्म प्राप्त जानकारी अनुसार काठमाडौँ– ७, ललितपुर-२, भक्तपुर २, झापा– २ र कास्कीका केही स्थानमा मतगणना सुरु भइसकेको छ ।
कतिपयमा भने आज दिउँसोबाट मतगणना सुरु गरिने तयारी रहेको छ ।