दाङ, मंसिर ४ । दाङमा सोमबार बिहान सर्वदलिय बैठक बसेपछि मात्रै मतगणना हुने भएको छ ।
सोमबार बिहान सर्वदलिय बैठक बसेर मापदण्ड तय गरेपछि मात्रै मत गणना सुरु हुने भएको छ ।
दाङ जिल्लाका मुख्य मतदान अधिकृत कृपासुर कार्कीले राति अबेरसम्म मत पेटीका संकलनको कार्य जारी रहेको हुँदा मतगणना संभव नभएको बताए ।
दिनभर काममा खटिएका कर्मचारीलाई आराम गर्ने समय दिएर सोमबार बिहान सर्वदलिय छलफल पछि बिहान दश बजेपछि मात्रै मतगणनाको काम सुरु हुन सक्ने संभावना उनले ब्यक्त गरे ।
निर्वाचन क्षेत्र नं. २ को पहाडी क्षेत्र बंगलाचुली गाउँपालिका र निर्वाचन क्षेत्र नं. ३ अन्तरगतको बबई गाउँपालिकाको गंगटे क्षेत्रको मत पेटीका आइतबार राति अबेर मात्रै सम्बिन्धित क्षेत्रका मत गणना स्थलमा आइपुग्ने संभावना रहेको उनले बताए ।
दाङ निर्वाचन क्षेत्र नं. ३ अन्तरगत तुलसीपुरस्थित भूसंरक्षणको कार्यालय, दाङ निर्वाचन क्षेत्र नं. २ को घोराहीस्थित जिल्ला समन्वय समितिको कार्यालय र क्षेत्र नं. १ अन्तगतको लमही नगरपालिकाको कार्यालयमा मतपेटीका संकलन गरि मत गणना सुरु गर्ने तयारी गरिएको छ । ती सबै स्थानमा तार जालीको ब्यबस्थापन गरिएको छ ।
तीन संघीय निर्वाचन क्षेत्र रहेको दाङमा सबै भन्दा बढी मत ३ नम्बरमा खसेको छ ।
यहाँ कुल मतदाता १४६४७५ रहेकोमा ९०१५० मत खसेको छ । जो प्रतिसतमा ६१ द्यशमलब ५४ प्रतिसत हुने गर्छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. २ मा कुल मतदाता १३३७४८ रहेकोमा ७९४४६ मत खसेको छ । जो प्रतिसतमा ५९ दशमलब ३९ प्रतिसत हुने गर्छ ।
त्यस्तै निर्वाचन क्षेत्र नं. १ मा कुल मतदाता १३४७३३ रहेकोमा ८०७०० मत खसेको छ । जो प्रतिसतमा ५९ दशमलब ८९ प्रतिसत हुने गर्छ ।
जिल्लामा राजनीति दल र स्वतन्त्र गरी प्रदेशसभा सदस्यका लागि ४६ जना र प्रतिनिधिसभा सदस्यका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
दाङमा ४ लाख १४ हजार नौ सय ५६ जना मतदाताले मताधिकार पाएका थिए ।
